वीरगन्ज,वीरगन्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेको निर्माण सामग्री हटाउने कामलाई तीव्रता दिएको छ ।
सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय संचालन गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।
महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ ।
एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाएको वीरगन्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो ।
‘हस्पिटलले वर्षौदेखि सडक छेउमा बेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आवागमनमा पनि असहज भएको थियो,’ उहाँले भन्नुभयो, ‘महानगरले सुरु गरेको अभियानअन्तर्गत जथाभाबी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियानअन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सडकमा आवागमन सहज हुने अपेक्षा छ ।’
अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखि नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरेकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताउनुभयो ।
तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउँठाउँमा बोर्ड राखिएको भन्दै उहाँले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि बताउनुभयो ।
महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ ।
शनिबार अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगन्ज महानगरपालिकाका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक मल्ल, वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु, महानगरका सरसफाइ प्रमुख सरफुद्धीन मियाँ, नगर प्रहरी प्रमुख हरि भुषाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिलहरुको सहभागिता रहेको थियो ।


















