निजगढ,जीतपुरसिमरा स्पोट्र्स क्लबको आयोजनमा आगामी चैत २१ गतेदेखि जीतपुरसिमरा क्रिकेट कप हुने भएको छ ।आज सिमरामा आयोजित पत्रकार सम्मेलनमा पालिकाको वडा नं.४ स्थित औराह खेल मैदानमा हुने प्रतियोगिता बारे जानकारी गराईएको हो । प्रतियोगितामा आयोजक सहित बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन जिल्लाको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । अघिल्लो संस्करणमा विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । आयोजित प्रतियोगितामा जनकपुर बोल्ट्स पनि जोडिएको छ ।
जीतपुरसिमरा क्रिकेट कपले नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सको साथ पाएको छ । कार्यक्रममा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले आयोजक क्लब र खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो । जर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै महेश सिग्देलले नेपालमा क्रिकेटको विकासले राष्ट्रिय सद्भाव र देशको उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देल हाल इयू टी–२० लिगका लागि बेल्जियममा हुनुहुन्छ । जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारीले जनकपुर बोल्ट्सको सहयोगको प्रशंसा गर्दै रंगशालाका लागि जग्गा र अन्य पूर्वाधारको विषयमा नगरले आवश्यक छलफल गर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडालगायतका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले प्रतियोगिताको सफलताका लागि ऐक्यवद्धता जनाएका थिए ।पत्रकार सम्मेलनको सहजीकरण सचिव सुशान्त शाहले गर्नुभएको थियो भने प्रतियोगिताको उदेश्यबारे उपाध्यक्ष समिन विष्टले प्रकाश पार्नुभएको थियो ।


















