सिमरा, मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ । बाराको सिमरा रंगशालामा आयोजित प्रतियोगितामा सर्लाहीले कुल ४५ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।सर्लाहीले १९ स्वर्ण, १५ रजत र ११ कास्य पदक हात पा¥यो । एथलेटिक्समा मात्रै सर्लाहीले १५ स्वर्ण, १३ रजत र चार कास्य जित्दै वर्चस्व कायम गरेको थियो ।

घरेलु टोली बाराले १६ स्वर्ण, ९ रजत र १२ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ । बाराले तेक्वान्दोमा सात स्वर्ण जित्दा एथलेटिक्समा ६ स्वर्ण पदक हात पारेको थियो ।
तेस्रो स्थानमा रहेको सिरहाले आठ स्वर्ण, पाँच रजत र आठ कास्य पदक जितेको छ । चौथो भएको महोत्तरीले चार स्वर्ण, पाँच रजत र नौ कास्य प्राप्त गरेको छ ।
यसैगरी सप्तरी तीन स्वर्ण, सात रजत र आठ कास्यसहित पाँचौं भएको छ भने धनुषाले तीन स्वर्ण, तीन रजत र पाँच कास्यसहित छैटौं स्थान हासिल गरेको छ । पर्साले कुनै स्वर्ण पदक जित्न नसके पनि चार रजत र १० कास्य पदक हात पार्दै सातौं स्थान सुरक्षित गरेको छ । रौतहट भने एक स्वर्ण, दुई रजत र ६ कास्य पदकसहित आठौं स्थानमा सीमित भयो ।
जेठ १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका कुल ७ सय ५२ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते तथा उसु खेल समावेश गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एथलेटिक्स तथा मार्सल आट्र्सतर्फ विजेता बनेका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । भलिबल र कबड्डीतर्फको प्रदेशस्तरीय टोली भने मधेस प्रदेश खेलकुद परिषद्को छनोट समितिले चयन गर्ने जनाएको छ ।प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइने मधेस प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव शिवजी गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटेर प्रदेशस्तरीय टोली निर्माण गरिनेछ ।
प्रतियोगिताबाट कुल एक सय २४ जना खेलाडी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका छन् । उनीहरूले अब मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल, खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त प्रदेश सचिव सुशिलकुमार साह तेली, नेपाली सेना २८ नम्बर गणका महासेनानी रञ्जनकुमार कार्की, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल तथा सदस्य सचिव शिवजी गुप्तालगायतले पुरस्कार वितरण गरेका थिए ।



















