वीरगञ्ज,पर्सा र सर्लाही जिल्लामा पानीमा डुबेर एक÷एकजना बालिकाको मृत्यु भएको छ ।पर्साको बिन्दवासिनी गाउँपालिका, वडा नम्बर ५, प्रसौनी भाट्ठामा एक जना १० बर्षिया बालिका साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएको छ ।
घटनामा स्थानीय आलिम राउत गद्दीकी छोरी साजिदा खातुन बाख्रा चराउन गएकी थिइन । शुक्रबार दिउँसो २ बजे बाख्रा चराउन गएकी साजिदा गाउँको पश्चिमपट्टि रहेको धुतहा नदीमा डुबेर बेपत्ता भएकी थिइन् ।स्थानीय प्रहरी चौकी प्रसौनी भाट्ठाका अनुसार नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएका थिए । तर उपचारको क्रममा नारायणी अस्पतालमै बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।त्यसैगरी सर्लाहीको लालबन्दी नगरपालिका– १७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २ः३० बजेतिर भएको घटनामा ईश्वरपुर नगरपालिका –५, सखुबनी निवासी सन्तोष पाण्डेकी छोरी १० वर्षीया निसा पाण्डेको मृत्यु भएको हो । रानिगन्जका एक स्थानीयले आफ्नो निजी जग्गामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकी निसालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी लगिएको थियो ।अस्पताल ल्याएर उपचार सुरु गरेको केही बेरमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । इन्सपेक्टर पाठकका अनुसार मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।स्थानीयका अनुसार सो खाल्डोमा पौडी खेल्नका लागि सखुबनीतर्फबाट ५–६ जना बालबालिका रानिगन्जतर्फ आएका थिए । अरु बालबालिका पौडी खेलेर बाहिर निस्कन सफल भए पनि निसा बाहिर निस्कन सकिनन् ।
जन्ति बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
रौतहट,रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ मा जन्ति बोकेको स्कारपिओ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जिल्लाको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकेर सर्लाही जिल्ला चक्रघटा तर्फ जाने क्रममा भएको यो दुर्घटनामा परी ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान गएको हो ।भारतीय नम्बर प्लेट (एचचार ७० डी ८३८२) को स्कारपीयो जीप शुक्रबार बिहान ९ बजे गढीमाई नगरपालिका वडा नम्बर ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाउँमा नहरमा खसेको थियो ।जीपमा १२ जना सवार रहेका थिए । दुर्घटनापछि तीन जनालाई अस्पताल पुर्याइएको छ भने अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन र घटनाको अनुसन्धान भइरहेको छ ।

Leave a Reply