काठमाडौं,नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्र केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्धको आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ ।एमाले केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले आन्दोलन सशक्त बनाउने ९ निर्णग गरेको छ । बैठकले शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भत्र्सना गरेको छ । बैठकले सरकारको ज्याद्धतीबिरुद्ध चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यस्तै वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय एमालेले गरेको छ । यसैगरी बैठकले सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने र बुधवार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बसेर आन्दोलन चर्काउने कार्यक्रम अघि सार्न निर्देशन दिएको छ ।
बैठकले सरकारको प्रतिशोधपूर्ण कार्यबिरुद्ध सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ भने संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।
यस्तै बुधवार ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भत्र्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने निर्णय गरेको छ ।त्यसैगरी वैशाख ७ गते प्रदेश राजधानीहरूमा र वैशाख १२ गते संघीय राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।
त्यस्तै बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ भने संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइएको छ ।
कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा समीक्षा गर्ने
काठमाडौँ, नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न सातै प्रदेशमा विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद र समीक्षा गर्न लागिएको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सबै निर्वाचन क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ ।
पार्टीले सातै प्रदेशका लागि छुट्टाछुट्टै मिति, स्थान र संयोजक समेत तोकेको छ । कोशी प्रदेशको विराटनगरमा चैत २३ गते डा. डिला संग्रौला पन्तको संयोजनमा कार्यक्रम हुनेछ भने मधेश प्रदेशको जनकपुरमा चैत २५ गते फरमूल्लाह मंसुरको संयोजनमा समीक्षा बैठक बस्नेछ ।
यसैगरी, गण्डकी प्रदेशको पोखरामा चैत २७ गते देवराज चालिसे र लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते योगेन्द्र चौधरीको संयोजनमा कार्यक्रम तय गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख महिनामा पनि समीक्षा कार्यक्रमले निरन्तरता पाउनेछ । वैशाख ३ गते कर्णालीको सुर्खेतमा कर्णबहादुर बुढा, वैशाख ५ गते सुदूरपश्चिमको कैलालीमा प्रकाश रसाइली स्नेही र वैशाख ७ गते बागमती प्रदेशको हेटौँडामा बहादुर सिंह लामाको संयोजनमा समीक्षा कार्यक्रम हुनेछ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरी जिल्ला कार्यसमितिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहने जनाइएको छ ।



















