कलैया,नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता, पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको विरोधमा आइतबार कलैयामा विरोध प्रदर्शन गरिएको छ ।
ओली र लेखकलाई निवासबाट पक्राउ गरिएलगत्तै एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रम अन्तर्गत एमाले बाराले जिल्ला प्रशासन कार्यालय कलैयामा ज्ञापनपत्र बुझाएर विरोध ¥याली निकालेको हो ।
प्रदर्शनपश्चात एमाले कार्यकर्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय बारामार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाएको छ । सो पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानूनी रहेको उल्लेख गर्नुभएको छ ।
कानूनी शासनको मर्म विपरित ओली र लेखकलाई पक्राउ गरिएकाले घटनाको एमाले बाराले भत्र्सना गर्ने जनाँउदै पाण्डेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष एवम् न्यायिक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग गठन गर्नसमेत माग गर्नुभएको छ ।
विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू बलबीर चौधरी, मोबिन आलम, मधेश प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य सुन्दर विकलगायत विभिन्न तहका नेता तथा जनसंगठनका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भदौमा भएको ‘जेन–जी’ आन्दोलनको क्रममा प्रदर्शनकारीहरुको मृत्यु भएको विषयलाई लिएर गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले ओली र लेखकमाथि फौजदारी लापरवाहीको आरोपमा अनुसन्धान अघि बढाएको हो । एमालेले भने यसलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेकोभन्दै देशव्यापी प्रदर्शन गर्दैआएको छ ।
नेपाल तरुण दल बाराद्वारा भत्र्सना
कलैया,नेपाल तरुण दल बाराले पूर्व प्रधानमन्त्री ओली तथा पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेकोमा घोर भत्र्सना गरेको छ । नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्नुभएको हो ।
विज्ञप्तिमा नेपाल तरुण दल जहिले पनि कानुनी राज्य, लोकतान्त्रिक मूल्य तथा विधिको शासनको पक्षमा उभिँदै आएको संगठन रहेको लेखिएको छ । हालको राजनीतिक परिवेशमा जनताको उल्लेखनीय समर्थन र विश्वासका आधारमा वर्तमान सरकारले प्राप्त गरेको जनादेशलाई आत्मसात गर्दै राष्ट्रलाई समृद्धितर्फ अग्रसर गराउने महत्वपूर्ण अवसरलाई गम्भीरतापूर्वक लिन दलले प्रेस विज्ञप्तिमा जोडदार आग्रह गरिएको छ ।
यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ विज्ञप्तिमा पटेलले लेखेका छन्।
नेपाल तरुण दल वर्तमान सरकारलाई यस्ता निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि वढ्न तथा राजनीतिक सहिष्णुता कायम राख्न कडा चेतावनीसहित दलले ध्यानाकर्षण गराएको छ। देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राखु सबै पक्षको साझा दायित्व हो दलले पुनः स्मरण गराएको छ ।
नेपाल तरुण दलले शान्ति, स्थिरता तथा समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्तिहरूबीच सहकार्य तथा संवाद आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने समेत विज्ञप्तिमा प्रतिवद्धता व्यक्त गरेको छ ।
















