निजगढ,आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बारा जिल्लामा जीतपुरसिमरा उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।बजेट सार्वजनिक गर्ने क्रममा तीव्र विवाद देखिएको जीतपुरसिमराले २ अर्ब १० करोड ५० लाख रुपैँया बराबरको बजेट ल्याएको हो । कार्यपालिका बैठकबाट निर्णय नै नगरी नगर प्रमुख राजन पौडेले बजेट ल्याएको भन्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित बहुमत वडा अध्यक्षले विरोध गरेपछि नगर सभाको तेस्रो बैठकबाट बजेट सार्वजनिक गरिएको हो ।

प्रचलित कानुनमा तेस्रो बैठकमा २५ प्रतिशत नगर सभा सदस्यहरुको समर्थनमा बजेट पास हने व्यवस्था भएपनि सो बैठकमा पनि आवश्यक संख्या नपुग्दै नगर प्रमुख पौडेलले बजेट पास भएको घोषणा गरेपछि सभाहलभित्र तनाब र तोडफोडसमेत भएको थियो ।जिल्लामा दोस्रो ठूलो आकारको बजेट ल्याउनेमा कलैया उपमहानगरपालिका रहेको छ । उसले १ अर्ब ५१ करोड ९१ लाखको बजेट सार्वजनिक गरेको छ । ठूलो बजेट ल्याउनेमा निजगढ नगरपालिका तेस्रो स्थानमा छ । उसले ९० करोड १ लाख बराबरको बजेट ल्याएको हो ।

त्यस्तै महागढीमाई नगरपालिका ७७ करोड ५४ लाख, कोल्हबी नगरपालिका ६८ करोड ९४ लाख, सिम्रौनगढ नगरपालिका ६४ करोड ५३ लाख र पचरौता नगरपालिकाले ६१ करोड ४३ लाख रुपैँयाको बजेट सार्वजनिक गरेका हुन् ।
यस्तै गाउँपालिकातर्फ प्रसौनीले ४७ करोड ५ लाख, आर्दश कोतवालले ४५ करोड ५२ लाख, फेटाले ४१ करोड २१ लाखको बजेट ल्याएका छन् । बारागढी गाउँपालिका ३९ करोड ३९ लाख, सुवर्ण गाउँपालिका ३९ करोड १ लाख, देवताल गाउँपालिका ३४ करोड ७३ लाख, परवानीपुर गाउँपालिका ३४ करोड ५७ लाख, बिश्रामपुर गाउँपालिका ३१ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ ।करैयामाई गाउँपालिका जिल्लामा सबैभन्दा सानो आकारको बजेट ल्याउने पालिकामा परेको छ । करैयामाईले जम्मा ३१ करोड ४६ लाखको बजेट सार्वजनिक गरेको हो ।पालिकाबाट सभामा पेश भएको बजेटको विवरण अनिवार्यरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्नुपर्ने प्रावधान छ । तर बारा जिल्लाका अधिकांश पालिकाले उक्त पोर्टलमा बजेट प्रविष्ट गरेको देखिएको छैन ।१६ वटै पालिकाले समयमै आगामी वर्षका लागि बजेट सार्वजनिक गरे पनि ७ वटा पालिकाले मात्रै मन्त्रालयको बेवसाइटमा बजेट प्रविष्ट गरेका छन् ।
मन्त्रालयको बेवसाइटमा कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, करैयामाई गाउँपालिका, फेटा गाउँपालिका र बारागढी गाउँपालिकाको बजेट मात्रै प्रविष्ट भएको हो । अन्य ९ वटा पालिकाहरुले भने पोर्टलमा बजेट प्रविष्ट गर्न बाँकी देखिएको छ ।
तोडफोडमा संलग्नमाथि कारबाही माग
सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको १०औं नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कानुनी कारबाहीको माग गर्दै सचेत नागरिक समाजको नाममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाइएको छ ।समाजले घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही गर्न र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरेको हो । दशौँ नगरसभाको तेस्रो बैठकमा असन्तुष्ट कार्यपालिका सदस्यसहित नगर सभा सदस्यहरुले सभास्थलको कुर्सी, टेबुल लगायतका सामग्री तोडफोड गरेका थिए ।तोडफोडको घटना खेदजनक र भत्सनायोग्य भएको भन्दै सचेत नागरिक समाजले सो घटनालाई सर्वसाधारण जनताले कुन रूपले लिने सोचनीय विषय भएको उल्लेख गरेको छ ।ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार्दै, भविष्यमा यस्ता कमिकमजोरीहरू दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै, उहाँले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी प्रक्रिया पूरा गरेर अघि बढ्ने पनि बताउनुभएको छ ।

Leave a Reply