निजगढ,निजगढ तिलगंगा आँखा अस्पतालले आज १ सय १५ जना मोतियाविन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ ।अस्पतालले निजगढ नगरपालिकालगायत बारा र रौतहट जिल्लाका विभिन्न पालिकामा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीहरु निजगढमा ल्याएर शल्यक्रिया गरेको हो ।
तिलगंगाले बाराको कलैया उपमहानगरपालिका, रौतहटको गुजारा नगरपालिका, फतुवा विजयपुर र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा आयोजना गरेको शिविरमा ८ सय ५० जना बिरामीको आँखा जाँच गरिएको थियो । सो शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीहरुलाई निजगढ तिलगंगा अस्पतालमा ल्याएर शल्यक्रिया गरिएको हो ।
त्यसैगरी जीतपुरसिरा उपमहानगरपालिका– १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाको संयुक्त आयोजनामा भएको एकदिने निःशुल्क आँखा परीक्षण शिविरमा फेला परेका मोतियाविन्दुका २९ जना बिरामीहरुको पनि अस्पतालमा शल्यक्रिया गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका– १७ को रामनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुरमा शुक्रवार आयोजित शिविरमा कुल १८५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए ।परीक्षणमा सहभागीमध्ये २९ जनामा मोतियाविन्दु रोग देखिएपछि निजगढ ल्याएर हिजो शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
शिविरमा तिलगंगा आँखा अस्पतालका दृष्टि विशेषज्ञ रन्जना चौधरी, नेत्र सहायक गजेन्द्र महत्तो र नेत्र स्वास्थ्यकर्ता पुर्नदेव चौधरीले सेवा प्रदान गरेका थिए । यस्तै, आयोजक सहकारी संस्थाका पक्षबाट अध्यक्ष नयनकला खड्का, कर्मचारी मुना न्यौपाने, चमेली लोप्चन र लिलावती चौधरी सहजीकरणमा खटिएका थिए ।



















