कलैया,जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज कलैयामा प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवा समूहको आह्वानमा गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्षतिको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीय युवाहरुले सदरमुकाम कलैयाको भरत चोकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा सहभागीहरूले “गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार?”, “बन्द कोठाको हस्तान्तरण होइन”, “सजाइएको संक्षिप्त होइन, पूरा प्रतिवेदन सार्वजनिक गर” जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

आयोगले गत फागुन २४ गते आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई जाँचबुझ प्रतिवेदन बुझाएको भएपनि सार्वजनिक नगरिएको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि जनाएका छन् । प्रदर्शनमा संजय केशरी, सौरभ चौगाईं, राजकुमार गुप्ता, मन्दिप दुबेलगायतका युवाहरूको सहभागिता रहेको थियो ।

Leave a Reply