वीरगञ्ज,पर्साको जगरनाथपुर गाउँपालिका ४ बाट प्रहरीले सोमबार राति ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई सय १३ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका १ को सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरिएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।सोनवर्षाबाटै ट्याक्टरलाई पछ्याउँदै गएको प्रहरी टोली जगरनाथपुर ४ मा पुग्दा तस्करहरूले गाँजासहितको ट्याक्टर सडकमा छोडेर फरार भएका थिए । प्रहरीले बरामद गरेको उक्त ट्याक्टर र गाँजा हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ ।
ट्याक्टरका धनी तथा संलग्न तस्करहरू सोनवर्षा गाउँकै रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि उनीहरूको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन ।हाल फरार रहेका चालक, ट्याक्टर धनी तथा उक्त तस्करीमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभएको छ ।



















