नेपालमा भदौ महिनाको अन्त्यतिर देशमा व्यापक रुपमा भएको बेथितिका विरुद्धमा युवा प्ुस्ताको विद्रोह भयो । धेरैले यसलाई सकारात्मक रुपमा लिए । मुख्यतः सत्ताका लागि जे पनि गर्ने परपाटी अब अन्त्य होला भन्ने लागेर धेरैले युवा पुस्ताको आन्दोलनमा साथ दिएका थिए र अनि त्यो रातारात जस्तो परिवर्तन संभव भयो । यो आन्दोलनमा धेरै मानवीय र भौतिक क्षति पनि भयो । देशले कयौं संरचनाहरु गुमायो भने कम्तीमा ७६ जना परिवारका सदस्यहरुले आफ्ना प्रियजन गुमाए ।
तर, त्यसपछि पनि यो देशमा सत्ता छिनाझम्टी खेलमा खासै परिवर्तन भने आएको देखिदैन । हुनत मुख्य मन्त्रीका लागि लालाहित भएका व्यक्ति एक महिना पनि सत्तामा टिक्न नपाउनु पीडाको कुरा होला नै तर मधेश प्रदेशमा भने रमिता देखिएको छ ।
मधेश प्रदेशमा एउटा दलको सरकार हटाएर अर्को दलको सरकार बनाउने प्रयास हुन्छ अनि त्यो पनि सफल हुदैन । कम्तीमा पाँच वर्ष सरकार टिकाउने नीति विलकुल देखिदैन ।सतिशकुमार सिंहमा के खराबी भयो, रातारात हटाइयो अनि जीतेन्द्र सोनल ल्याइयो सोनललाई पनि फेरि अहिले सफल हुन दिइएन । यो सत्ताका लागि निकै खराब कुरा हो ।
मधेश प्रदेश सभामा शनिवार जे जे देखिए ती सबै सत्ताका लागि नै भएका होलान भन्ने पनि देखिन्छ । अब सत्ताका लागि होइन परिवर्तनका लागि हो भन्ने संदेश विरोध गर्नेहरु दिन सक्नुपर्दछ । फेरि सरकार पनि चाहिन्छ नै तर टिकाउ । महिना दिन बित्न नपाउदै सरकार ढाल्ने कार्य त कसरी सुशासनको पक्षमा होला र ?
















