कलैया,महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरेको आरोपमा बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का शम्भु राय, सन्दिप राय र पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ५ का पवन यादव रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार मन्दिरमा पूजा गर्न आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । मन्दिरमा जडान गरिएको सिसिटिभी क्यामराबाट पहिचान गरी उनीहरुलाई पक्राउ गरेको सापकोटाले जानकारी दिनुभयो । पक्राउ गरेकालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।

घटस्थापनाको दिनदेखि मेला सुरु भएसंगै गढीमाई मन्दिरबाट दर्शनार्थीको गहना, नगद र सरसामान चोरी हुन नदिन उच्च सतर्कता अपनाइएको छ । मन्दिर क्षेत्रमा हुने चोरीका घटना नियन्त्रण र चोरी गर्ने व्यक्तिको पहिचान गर्नका लागि सिसिटिभी क्यामरा जडान गरिएको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएको र १० वटा थप्ने काम भइरहेको यादवले बताउनुभएको छ ।

Leave a Reply