निजगढ,बाढी र नदी कटानको प्रकोप नियन्त्रण गर्न निजगढ नगरपालिकाको नगर विपद व्यवस्थापन समितिले नगरका विभिन्न नदीमा च्यानलाईज गर्ने निर्णय गरेको छ ।मंगलवार बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले निजगढको बकैया, धन्सार, लाल, भक्तलाल लगायतका खोलाहरुमा च्यानलाइज गर्ने व्यवस्था मिलाउन नगर कार्यपालिकासंग आग्रह गर्ने निर्णय गरेको हो ।बैठकले लाल खोलाको झोलुङ्गे पूलदेखि पूर्वतर्फ नदीजन्य पदार्थ थुप्रिई नदीले धार परिवर्तन गरी वन क्षेत्र, तामागढी– रतनपुरी– अमलेखगंज सडकलाई समेत क्षति पु¥याउने उच्चजोखिम रहेकोले सो स्थानमा नदी च्यानेलाईज कार्य गरी पुलको पूर्वतर्फको भागमा नदीजन्य पदार्थ उत्खनन गरी तत्कालै नदीमा ड्याम निर्माण गर्ने निर्णय गरेको छ ।त्यसैगरी भक्तला, धन्सार, शक्ति÷पसाह, बकैया खोला पूलदेखि उत्तर खिला मोहोरी ड्यामसम्म र दक्षिण तर्फका नदीकट्टाको पुच्छारका स्थानहरुमा नदीजन्य पदार्थको उत्खनन् तथा च्यानालाईज कार्य गर्नुपर्ने अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ । निजगढस्थित पूर्व पश्चिम राजमार्गमा पर्ने बकैया खोलामा आउने बाढीले धार परिवर्तन गरी पुलको पूर्वतर्फको पक्की ड्याममा क्षति हुन सक्ने उच्चजोखिम देखिएकोले नदीको धार परिवर्तन गरी पक्की ड्याम तथा बकैया पुल संरक्षणका लागि नदी च्यानलाइज कार्यका लागि सडक डिभिजन कार्यालय, मकवानपुर र जिल्ला विपद व्यवस्थापन समिति, बारा लगायत सम्बन्धित निकायमा लेखी पठाउने निर्णय पनि गरिएको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।त्यस्तै बकैया, भक्तलाल, धन्सार, शक्ति÷पसाह खोलाहरुमा पनि नदीजन्य पदार्थ थुप्रिएर बर्षाको समयमा नदीले धार परिवर्तन गरी मानवबस्ती, खेतियोग्य जमिन, वनजंगल, सडक पूर्वाधार, नदी नियन्त्रणका लागि बनाइएको ड्याम लगायतका संरचना र मानवबस्तिमा समेत क्षति पुग्ने देखिएकोले उक्त स्थानमा तत्कालै च्यानेलाइज कार्य अघि बढाउने निर्णय पनि गरिएको नगर प्रमुख पुरीले बताउनुभयो । बैठकले निजगढ नगरपालिका क्षेत्रभित्र बर्षाको समयमा फैलन सक्ने झाडापखाला, टाइफाइड ज्वरो, भाइरल ज्वरो, मौसमी फ्लु, डेंगु, सर्पदंश एवं जन्डिसबाट नागरिकहरुलाई सुरक्षित पार्न नगरपालिका स्वास्थ्य शाखाबाट तयार गरी पेश हुन आएको परिमाण बराबरको औषधिजन्य सामग्रीहरु तथा सम्भावित विपदमा आवश्यक पर्ने उद्धार सामग्रीहरुको भण्डारण तथा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।बैठकले निजगढ नगरपालिका क्षेत्रभित्र बर्षाको समयमा आउन सक्ने बाढीबाट जनधनको क्षतिबाट बचाउन स्थानीय राजनीतिक दलहरु, निजगढ नगरपालिकास्थित सुरक्षा निकायहरु, संघ संस्थाहरु, नागरिक समाजहरुलाई विपदको समयमा उद्धार कार्य एवं राहत सामाग्री वितरण जस्ता मानवीय कार्यमा सहयोग पु¥याउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै बर्षाको समयमा आइपर्न सक्ने विभिन्न विपदजन्य जोखिमहरु तथा रोग व्याधिहरुबाट नागरिकहरुलाई सचेत गराउन स्थानीय संचारमाध्यमहरुबाट जनचेतनामूलक सामाग्री प्रसारण गर्ने निर्णय पनि गरिएको छ ।त्यसैगरी हाल नगरका किसानले पालेको पशुमा देखा परेको लम्पीस्कीन नामक रोगको नियन्त्रणका लागि आवश्यक पर्ने इन्जेक्सन, भ्याक्सिन लगायतका औषधिहरुको निजगढ नगरपालिकाको स्वीकृत बार्षिक कार्यक्रमा रहेको विपद व्यवस्थापन शीर्षकबाट खर्च लेख्ने गरी तत्कालै औषधिहरुको व्यवस्थापनका लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । रोग बिरुद्ध लड्न किसानहरुमा सचेतना कार्यक्रम समेत संचालन गर्ने निर्णय भएको छ ।निजगढ नगरपालिकाका प्रमुख तथा सुरथ पुरीको संयोजकत्वमा बसेको बैठकमा उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, वडा नम्बर.१ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, १३ नम्बरका वडा अध्यक्ष सूर्य घलान, कार्यपालिका सदस्य मैयाकुमारी सुनार, नेपाली सेनाको फास्ट ट्रयाक आयोजनाका सेनानी उज्जवल केसी, सेनानी निराजन थापा, सेनानी रवि भट्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र थापा, प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा एमाले निजगढ नगर कमिटी सहसचिव थानेश्वर सापकोटा, नेकपा माओवादीका नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, निजगढ नगर कमिटी अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा एकिकृत समाजवादी निजगढ नगर कमिटीका प्रतिनिधि मानध्वज लामा, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस उपशाखा निजगढका सभापती नारायण शर्मालगायतको सहभागिता रहको थियो ।


















