फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसपालीको निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्याधिक मत दिएका छन् ।काँग्रेस, एमाले लगायतका पार्टीको संगठनको आधारमा हेर्ने हो भने स्वतन्त्र पार्टीको संगठन बलियो थिएन तर मत लगभग दुई तिहाइ नै आयो । किन यसरी मत आयो भन्ने प्रश्नको सहज जवाफ छ, पुराना दलप्रति जनताको वितृष्णा ।
त्यसो त नेपालको इतिहाँसमा दुई तिहाइको हाराहारीमा मत ल्याउने रास्वपा मात्रै पहिलो दल भने होइन । नेपालमा जनताले सबै दललाई काम गर्नका लागि मौका दिएका थिए ।२०४८ सालमा काँग्रेसलाई पनि बहुमत दिएका थिए, २०६४ सालमा पनि माओवादीलाई बहुमत दिएका थिए र २०७४ सालमा पनि एमाले÷माओवादीलाई बहमुत नै दिएका थिए तर नेपालमा २०४६ पछि पाँच बर्ष सरकार टिकेको उदाहरण छैन । दलभित्रको स्वार्थका कारण यो समस्या आयो । दलहरुमा निकै घमण्ड पलायो र अहिले यी दललाई जनताले अस्वीकार गरिदिए ।पाँच वर्षका लागि आफुहरुलाई मौका दिनुस् भनेर रवि र बालेनहरु आए र जनताले उनीहरुको माग अत्याधिक मतले स्वीकृत गरिदिएका छन् । मज्जाले सरकार चलाउन सक्ने गरी मत दिएका छन् ।
अहिले कता कता रास्वपा समर्थकहरुले चैं पुराना दलकै कार्यकर्ताको जस्तो पारा देखाएको पनि देखिन्छ । दम्म र घमण्ड नगरौं । नेताबाट त त्यस्तो कुरा आएको छैन । कार्यकर्तामा घमण्ड भयो भनेपनि पार्टी सकिन्छ त्यसो त रास्वपाका धेरै कार्यकर्ता त छैनन् तैपनि शुभेच्छुक भने धेरै छन् । यस्तो घमण्ड नगरौं अब विकास गरेर देश बनाएर जनताको मत जितौं र रास्वपाले पछि पनि देशमा शासन गर्ने वातावरण बनाओस ।
















