वीरगञ्ज,पर्साको कालिकामाई गाउँपालिकामा पुराना कर्मचारीहरूलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरिएको भन्दै कर्मचारीहरुले आन्दोलन शुरू गरेका छन ।पालिका अन्तर्गतको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूले पालिकाको मुख्य गेटमा शान्तिपूर्ण धर्ना दिएर आन्दोलन गरिरहेका हुन् । धर्नामा बसेका कर्मचारीहरू विगत ९ वर्षदेखि पालिका अन्तर्गत स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत छन् । पालिका अध्यक्ष बशिष्ठ कलवारले आफ्नो नजिकका व्यक्तिहरूलाई वहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेको कारण उनीहरूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन ।
शुुरूमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट करिब ९ वर्षअगाडि स्वास्थ्य चौकीको कार्यालय सहयोगीमा नियुक्ति पाएका यी कर्मचारीहरूलाई पालिका स्थापनापछि निरन्तरता दिइएको थियो । आयोगबाट दरबन्दी कायम नभएसम्म निरन्तरता दिने पालिकाको तत्कालीन बोर्डको निर्णय अनुरूप कर्मचारीहरूले कार्यालयमा काम गर्दैआएका थिए । तर अहिले पालिका अध्यक्षले आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्यले पुराना कर्मचारी हटाउने गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताउनुभयो । उहाँले पुराना कर्मचारी हटाएर नयाँ राख्ने सोचले समस्या निम्त्याएको बताउनुभयो । पुराना कर्मचारीहरूले कार्य सम्पादन मूल्यांकनमा उच्च अंक पाएको भएपनि पालिका अध्यक्ष र प्रशासकीय अधिकृत अमित गिरीले म्याद नथपेर पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप उहाँले लगाउनुभएको छ ।

















