निजगढ,पूर्वपश्चिम राजमार्गस्थित निजगढ–पथलैया सडकखण्डको दुधौरा पुल निर्माण शुरू भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य पुरा हुनसकेको छैन । पुलको निर्माण कार्य पुरा नहुँदा राजमार्ग भएर चल्ने सवारी साधनका यात्रु र मालवहाक साधनले यो वर्षको वर्षायाममा पनि सास्ति खेप्नुपर्ने भएको छ ।निर्माण कम्पनीको ढिलासुस्ति र लापरबाहीले अहिलेसम्म पुल निर्माणको ५० प्रतिशत काम मात्र सम्पन्न भएको छ । ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समय सीमाभित्र निर्माण नहँुदा राजमार्ग भएर गुड्ने सवारी साधन र यात्रुहरूले जोखिम मोल्दै आइरहेका छन् ।निर्माण कार्य सुरु भएसंगै डाइभर्शनमार्फत सडक सुचारु हुदै आएको खोलामा बाढी आएपछि अवरुद्ध हुने गरेको छ । सवारी साधन आवतजावतको लागि दुधौरा खोलामा बेलिब्रिज सञ्चालनमा छ । तर बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारका मालवाहक सवारी साधन ओहोरदोहोर गर्ने गरेकाले सो ब्रिज कमजोर बन्दै गइरहेको सवारी चालकहरूले बताएका छन । ठेकेदार कम्पनींका इन्जिनीयर अजयकुमार झाले अहिलेकै गतिमा काम हुनसके आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताउनुभयो ।पुलको पिलर भासिएपछि सडक कार्यालयले ठेक्कामार्फत नया पुल निर्माण थालेको हो । महादेव÷खिम्ती÷हीराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्नको लागि १७ करोड २२ लाखमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ ।साबिक पुलको पिलर दुई पटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकोले पुरानो पुललाई पूर्णरूपमा भत्काएर नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको महाशाखाले जनाएको छ ।सो पुल निर्माण गर्ने ठेकेदार कम्पनीको आग्रहपछि २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी म्याद थप गरेको र केही समययता निर्माणको कामले केही गतिलिएको छ ।दुधौरा खोलाबाट अनियन्त्रित रुपमा भएको नदीजन्य पदार्थको उत्खननले पटकपटक पुलको पिलर भासिएपछि नयाँ निर्माण गर्नुपर्ने भएको हो ।


















