वीरगञ्ज,
सर्लाहीका उखु किसानले अनुदानको रकम दसैं अगाडि नै पाउने भएका छन् ।

गत आर्थिक वर्षका लागि नेपाल सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योगीले प्रति क्वीन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको थियो । सहमति अनुसार उद्योगीले दिने ५ सय २० रुपैयाँ उनीहरुले सर्लाहीका किसानलाई दिइसकेका छन् । प्रति क्वीन्टल ७० रुपैयाँका दरले अनुदान रकम मंगलबार प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका कोष नियन्त्रक जीवन पुरीले बताउनुभयो । सरकारले पठाउनु पर्ने रकम पठाइ सकेको र किसानको खातामा रकम हाल्न तथा सबै किसानको रकम खाता रुजु गर्ने लगायतको काम गर्न दुई जना कर्मचारी नै खटाएर काम भैरहेको कोष नियन्त्रक पुरीको भनाइ छ ।

यस वर्ष सरकारले सर्लाहीका किसानलाई बाँड्न २२ करोड ९८ लाख पठाएको र असोजको पहिलो साता किसानको खातामा पैसा जाने गरि काम भइरहेको कोष नियन्त्रक पुरीको भनाइ छ ।

ढिलै भए पनि चाडपर्वको मुखमा पैसा पाउने भएपछि बजारमा चहल पहल बढनुको साथै महान चाडपर्व मनाउन सहज हुने नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।

नेपाल सरकारले उद्योगि र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिन भित्र उखु किसानलाई बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि उखु बेचेको करिब ८ ९ महिना पछि भएपनि अनुदान पाउँदा खुसि मानु पर्ने अवस्था आएको उखु किसान नेता राजकुमार उप्रेती बताउनुहुन्छ । सर्लाहीमा मात्र करिब २५ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ ।

Leave a Reply