रौतहट,रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत परोहा नगरपालिका– ९, रामपुर टोलमा सरस्वती माताको मूर्ति विसर्जन गर्ने क्रममा झडप हुँदा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय स्रोतका अनुसार सार्वजनिक सडक हुँदै ट्र्याक्टरमा राखेर मूर्ति विसर्जनका लागि लैजाँदै गर्दा मुस्लिम बस्ती नजिक पुग्नेबित्तिकै अचानक ढुंगामुढा सुरु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।
प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच भइरहेको विसर्जन यात्रामा भएको झडपले केहीबेर क्षेत्र तनावमा परिणत भएको थियो ।ढुंगामुढाबाट घाइते भएका व्यक्तिहरूको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनापछि सम्भावित अप्रिय अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटले थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने केही समयका लागि आवतजावतसमेत प्रभावित भएको थियो ।
स्थानीयका अनुसार रौतहट क्षेत्र नम्बर २ मा मूर्ति विसर्जन तथा हिन्दू समुदायका चाडपर्वका बेला यस्ता तनावपूर्ण घटना पटक–पटक दोहोरिँदै आएका छन्, जसले समुदायबीचको सद्भावमा नकारात्मक असर पारिरहेको छ । अघिल्लो वर्ष पनि सरस्वतिको मूर्ति विसर्जन गर्नेक्रममा स्थानीयबीच ढुंगामुढा भएको थियो ।प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै, भविष्यमा यस्ता अप्रिय घटना नदोहरिन स्थायी सुरक्षा व्यवस्था र समुदायबीच संवादको वातावरण निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।
धार्मिक आस्था र परम्पराको सम्मान गर्दै सबै समुदायबीच शान्ति, सहअस्तित्व र आपसी सद्भाव कायम गर्नु अहिलेको मुख्य आवश्यकता रहेको स्थानीय अगुवाहरूको भनाइ छ ।
२ वर्षअघि पनि सोही निर्वाचन क्षेत्रमा पर्ने ईशनाथ नगरपालिका– ७, घिउरा गाउँमा सरस्वती माताको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच विवाद र झडप हुँदा स्थानीय प्रशासनले कफ्र्यु नै जारी गर्नुपरेको थियो ।सरस्वती मूर्ति विसर्जनका लागि जाँदै गरेको समूहलाई चर्को श्वरले डिजे बजाएको भन्दै अर्को समूहले अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । दुई पक्षबीचको झडपमा ढुङ्गामुडा प्रहार हुँदा केही स्थानीय घाइतेसमेत भएका थिए ।
















