वीरगञ्ज,सिर्सिया नदी प्रदूषित पार्ने उद्योग विरुद्ध कारबाहीमा उत्रिएको वीरगञ्ज महानगरपालिकाले सोमवार दोस्रो दिन २ वटा उद्योगपरिसरमा फोहोर थुपारेको छ । महानगरले नदी प्रदषित पार्ने उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारेर कारबाही थालेको हो ।नगर क्षेत्रबाट उत्सर्जन भएको फोहोरमैला ट्रयाक्टरमा राखेर गएको नगर प्रहरीसहितको सरसफाइ टोलीले परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग र श्रीसिद्धि टेक्सटाइल्सको मुख्यद्वार प्राङ्गणमा २० टेलर फोहोर थुपारेको छ । यसअघि आइतवार पनि महानगरको टोललीले परवानीपुरकै अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वारमा फोहोर थुपारेको थियो ।
उद्योगबाट निस्काशन भएको दुषित पदार्थ नदीमा नमिसाउन पटक पटक चेतावनी र आर्थिक जरिवाना गर्दा पनि अटेर गरेपछि वीरगञ्ज महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरु विरुद्ध कारबाही थालेको हो ।आाइतवार फोहोर थुपारिएका उद्योगमध्ये मोरियम लेदर इण्डस्ट्रिजका सञ्चालकले नदीमा प्रदुषण गर्ने प्रतिबद्धता जनाएको वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले बताउनुभयो । तर बाँकी दुई उद्योगले आइतवार फालिएको फोहोरको तस्बिर खिच्च्न जाँदा एक जना नगर प्रहरीलाई दुई घण्टा नियन्त्रणमा लिएर राखेका कारण सोमवार फेरि फोहोर लगेर थुपारिएको भुसालले बताउनुभयो ।
यसअघि वीरगञ्ज महानगरले नदी प्रदुषित गर्ने ९ वटा उद्योगहरुमा गत बैशाख ९ गतेसिल गर्ने तयारी गरेपछि सोहि दिन उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित रुपमै सामुहिक प्रतिबद्धता जनाएका थिए । तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दा पनि नदीको प्रदुषण नरोकिएपछि अटेरी गर्नेमध्येका उद्योगहरुमा आइतवारदेखि महानगरले सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर थुपार्न थालेको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बताउनुभएको छ । उहाँले अब पनि उद्योगहरूले नदी प्रदूषण नरोके नेपालको प्रचलित कानुन बमोजिम महानगरपालिकाले थप कडा कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।