निजगढ,बितेका २ दिनमा निजगढ नगरपालिकका छुट्टाछुट्टै स्थानमा भएका झडप र कुटपिट घटनामा ७ जना घाइते भएका छन । कुटपिटमा संलग्न रहेको आशंकामा निजगढ प्रहरीले ११ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ ।
माघी महोत्सवको अवसरमा मंगलवार साँझ निजगढ ११ रतनपुरमा भएको कार्यक्रममा सामान्य निजगढ ४ कछडिया टोल र रतनपुरीका युवाहरुबीच भएको सामान्य विवाद झडपमा परिणत भएको थियो ।
झडपमा रतनपुरका ४ र निजगढका १ जना युवक सामान्य घाइते भएका छन । घाइते हुनेमा निजगढ ११ का भुवन श्रेष्ठको छोरा वर्ष २१ सौगात श्रेष्ठको आखाँमा चोट लागेको र उनको टाउकोमा ४ वटा टाका लगाइएको छ । अर्का घाइते सोही ठाउँ बस्ने तोकबहादुर बस्नेतको छोरा वर्ष ३० भक्तबहादुर बस्नेतको दाँया खुट्टामा र नाकमा चोट लागेको प्रहरीले बताएको छ ।
त्यसैगरी सोही ठाउँका नरनाथ काफ्लेको छोरा वर्ष २७ को पदमप्रसाद काफ्ले, बोधबहादुर श्रेष्ठको छोरा वर्ष ३३ को अमित श्रेष्ठ र ओमबहादुर कुवरको छोरा वर्ष २१ को रुद्रबहादुर कुवरको पनि शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेकोे वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमिति कुशवाहाले जानकारी दिनुभयो ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबै निजगढ ४ का युवाहरु रहेका छन ।
यसअघि उक्त घटनाको अघिल्लो दिन निजगढ ९ को बुद्धचोकस्थित एउटा होटलमा साथीको जन्मदिन मनाउन भेला भएका युवाहरुबीच कुटाकुट हुँदा ४ जना घाइते भएका थिए । घाइतेहरुको स्थानीय सिटी अस्पतालमा उपचारपछि घर फर्किसकेको र मिलापत्रको कागज गराएर उनीहरुलाई सबैलाई प्रहरी छाडेको थियो ।


















