निजगढ,प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको स्थलगत अनुगमन गर्ने हुनुभएको छ ।राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको फास्ट ट्र्याकको निर्माण प्रगति तथा समग्र अवस्थाको मूल्यांकन गर्न प्रधानमन्त्री कार्की अनुगमनमा आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री कार्की मंगलबार सेनाको हेलिकप्टरमार्फत निजगढ आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ । अनुगमनका क्रममा उहाँले फास्ट ट्र्याकअन्तर्गत निर्माणाधीन विभिन्न सुरुङ मार्ग, सडक खण्ड तथा पुलहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै प्रधानमन्त्री कार्कीले आयोजनामा देखिएका प्राविधिक, व्यवस्थापकीय तथा वातावरणीय चुनौतीहरूबारे सम्बन्धित निकायका अधिकारीहरूसँग जानकारी लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

काठमाडौंलाई तराई–मधेससँग छिटो, सहज र सुरक्षित रूपमा जोड्ने उद्देश्यले निर्माण भइरहेको फास्ट ट्र्याक मुलुकको आर्थिक, सामाजिक तथा व्यापारिक विकासका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । सरकारले यस आयोजनालाई उच्च प्राथमिकतामा राख्दै समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।प्रधानमन्त्री कार्की फास्ट ट्र्याक अनुगमनका लागि पहिलो पटक बारा जिल्ला आउन लाग्नुभएको हो । उहाँको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ भने आयोजनास्थल आसपासमा तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्रीको यस अनुगमनले आयोजनामा देखिएका समस्या समाधानमा सहयोग पुग्ने, निर्माण कार्यलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply