सिमरा,बारास्थित पूर्वपश्चिम लोकमार्गमा ट्रक चालकको ज्यान लिने जंगली हात्तीलाई पर्सा राष्ट्रिय निकुञ्जको टोली नियन्त्रणमा लिएको छ ।निकुञ्जसहित राष्ट्रिय प्रकृति कोष सौराहाबाट आएको टोलीले हात्तीलाई मंगलवार साँझ डार्ट गरेर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको सो हात्ती मानव बस्ती र राजमार्गबाट टाढा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रभित्र लगेर छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर जयराम न्यौपानेले जानकारी दिनुभएको छ ।
सोमवार बिहान राजमार्गमा आएर ना.४ ख १८३० नम्बरको ट्रकका चालक जीतपुरसिमरा उपमहानगरपालिका– १ निवासी करिब ४० वर्षका राजकुमार चौधरीको ज्यान लिएपछि तामागढीबाट दक्षिणतर्फको जंगलमा पसेको सो हात्ती मंगलवार साँझ राजमार्ग नजिकै पिलुवा क्षेत्रमा देखा परेपछि सुरक्षाकर्मीसहितको टोलीले डार्ट गरेका थिए । डार्टपछि अद्र्ध बेहोस बनेको हात्तीलाई पर्सा राष्ट्रिय निकुञ्जबाट मगाइएको घरपालुवा हात्तीको मद्दतमा धपाएर जंगलतर्फ लगिएको डिभिजन वन कार्यालय बाराका प्रमुख राजिवकुमार झाले जानकारी दिनुभयो । हात्ती नियन्त्रणमा लिन डार्ट टोली, पर्सा राष्ट्रिय निकुन्जको घरपालुवा हात्ती र प्राविधिकहरु सोमवार दिउसोदेखि नै निजगढ– पथलैया क्षेत्रको राजमार्ग परिचालन गरिएको थियो ।
हात्तीले राजमार्गमा आएर आइतवार रातिदेखि सवारी आवागमनमा अवरोध पु¥याउनुको साथै दर्जनौ गाडीमा क्षति पु¥याएको थियो । सोही क्रममा ट्रकमा आक्रमण गरेर चालक चौधरीको ज्यान लिएको हो ।वन क्षेत्रमा हिसंक हात्तीको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बाराले वनको चारकिल्ला तोकेर सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको छ ।कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजिव झाले सूचना निकालेर कार्तिक २५ गते मंगलवारदेखि २०८२ कार्तिक ३० गतेसम्मको लागि बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित सामुदायिक, साझेदारी वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको जानकारी गराउनुभएको हो ।



















