आरके राजन
सिम्रौनगढ,विद्यालयको प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बाराको सुवर्ण गाउँपालिकामा सोमवार दिउसो विद्यार्थीको एक समुहले तोडफोड गरेको छ ।वर्ण–४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामएकबाल प्रसादका समर्थक केही विद्यार्थी र अभिावकहरूले गाउँपालिका कार्यालयमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष राजेश यादवले आरोप लगाउनुभएको छ ।प्रधानाध्यापक प्रसादले स्थानीय विद्यार्थीहरूलाई उचालेर आन्दोलन गराएको पालिका अध्यक्ष यादवले पत्रकार सम्मेलन गरी आरोप लगाउनुभएको हो ।आन्दोलनकारीहरूले गाउँपालिकाको कार्यालयमा तोडफोड गर्दा छ वटा मोटरसाइकल, कार्यालयको कम्प्युटर, फर्निचरलगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३३ राउन्ड अश्रु ग्यास प्रयोग गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । आन्दोलनकारीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका डीएसपी पाण्डेले बताउनुभयो ।



















