सिम्रौनगढ, १६ साउन– वर्षाको पानी निकासको लागि बनाइएको साइफन बन्द हुँदा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ स्थित हरिहरपुर र वरपरको धान खेत एक सातादेखि डुवानमा परेको छ ।
लगातारको बर्षा र बाढीले हरिहरपुरको उत्तरतर्फ रहेको धान खेत र स्थानीयको घरसमेत डुवानमा परेको हो । डुवानले बीस बिगाहा भन्दा बढी धानबाली नष्ट हुने र फुसका केही घरहरुसमेत भत्किने अवस्थामा पुगेको स्थानीय पिडित जिकुरुलाह अन्सारीले बताउनुभयो । उहाँले लामो समयदेखि पानीमा डुबेपछि धानको बोट मर्न लागेको बताउनुभयो ।
अन्सारीकाअनुसार एक दशकयता यो वर्ष डुवानले यस क्षेत्रमा सबै भन्दा बढी क्षेति गरेको छ । १० वर्षअघि पनि यसरी नै डुवान भएपछि किसानले उक्त क्षेत्रमा साइफन बनाएर पानीे निकासको प्रवन्ध गर्दैअएका थिए ।
तर केही व्यवसायीहरुले अहिले साइफन नै बन्द हुने गरी माछा पालन पोखरी निर्माण गरेपछि गाउँमा डुवान समस्या देखिएको हो । ‘माछा पोखरीका केही ठेकेदारहरुले आफ्नो निजि स्वार्थको लागि साइफन नै बन्द गरेर पोखरी बनाएपछि समस्या आयो, स्थानीय ताराचन्द्र सहनीले भन्नुभयो, नगरपालिकाले पहल गरेर तत्काल साइफन खोल्न लगाउनुपर्छ ।’ उहाँले साइफन बन्द हुदा किसानहरु मार्कामा परेको बताउनुभयो ।
डुवान समस्या हल गर्न भनेर पटकपटक नगरपालिका कार्यालयमा धाउदासमेत कार्यालयमा कुनै सुनुवाइ नभएको अर्का पिडित किसान सुखाडी सहनी बताउनुहुन्छ । ‘धेरैको घर र खेत डुबानमा परेको छ, सहनीले भन्नुभयो, तर पानीको निकास निकाल्न नगरपालिकाले अहिलेसम्म कुनै चासो देखाएको छैन ।’ उता, सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेशप्रसाद यादवले भने डुवानको गुनासो लिएर अहिलेसम्म कोही पनि कार्यालयमा नआएको बताउनुभयो ।