कलैया,बाराको प्रसौनी गाउँपालिका २ अन्तर्गत दुधौरा पुल नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका ३ का २० वर्षीय आयुष गुप्ता रहेका छन् । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको म.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक गुप्ता गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । स्कुटरको पछाडि सवार वीरगञ्ज महानगरपालिका १० घडीहर्वाका मौसम कुमार साहको दाहिने हात र ढाडमा चोट लागेको छ ।
दुवै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर पठाइएको थियो । तर उपचारकै क्रममा बिहान करिब ८ बजे गुप्ताको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई कलैयाको हनुमान चोकबाट नियन्त्रणमा लिएको छ। साथै ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ चौधरी टोल निवासी २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बारा कलैयामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















