वीरगंज, ११ साउन– कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले आइतबारबाट वीरगंजमा मास टेस्टिङ सुरु गरेको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको व्यवस्थापनमा मास टेस्टिङ सुरु गरिएको हो । स्वास्थ्य कार्यालय, नारायणी अस्पतालका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली स्वाब संकलनमा खटिएका छन् । टोलीले वीरगञ्जको माइस्थानमा २ सय ९ जनाको स्वाब संकलन गरेको छ । राधेमाईमा पनि आइतबार नै स्वाब संकलन गरिको छ । त्यस्तै नारायणी अस्पतालमा पनि स्वाब संकलन गरेको जनाएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले संक्रमित भेटिएको र बढी भिडभाड हुने संकास्पद क्षेत्रमा स्वाब संकलन गरिएको जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि जोखिम बढी भएको ठाउँमा समुदाय स्तरमा कोरोना भए नभएको परीक्षण गर्न लागिएको जानकारी दिनुभयो । नारायणी अस्पताल, विर्ता क्षेत्र, माईस्थान, श्रीपुर, राधेमाई क्षेत्रमा संक्रमित भेटिएको र दैनिक ७÷८ सय स्वाब संकलन गरेर ८÷१० हजारको पीसीआर परीक्षण गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । वीरगञ्जमा महानगरपालिकाले एक घर एक परीक्षण अभियान मार्फत ५० हजार घरधुरीको पीसीआर परीक्षण गर्ने बताउँदै आएको छ । अभियान सञ्चालनका लागि सीसीएमसी र डीसीएमसीले सहमति नदिएको गुनासो नगर प्रमुख विजय सरावगीले बताउनभुयो । स्थानीय प्रशासनले राजनीतिक दलसँगको परामर्शपछि वीरगजमा निषेधाज्ञा जारी गरेर मास टेस्टिङ गर्ने निर्णय गरेको थियो । महानगरपालिका प्रमुख सरावगीले त्यहि आधारलाई टेकेर ‘एक घर एक परीक्षण’ अभियान सुरु गरेको बताउनुभएको छ । महानगरपालिकाले संकलनको गरेको स्वाब परीक्षणका लागि आवश्यक सबै सामग्रीको बन्दोबस्त पनि गरिएको उहाँले दाबी गर्नुभयो । महानगरपालिकाले संक्रमितका लागि काउन्सिलिङ गर्ने र औषधी पठाउने सेन्टर स्थापाना गर्ने जानकारी मेयर सरावगीले जानकारी दिनुभयो । सँगसँगै कोरोना महामारीबाट मुक्त हुनका लागि सीमा नाका सिल गर्नुको विकल्प नभएको धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, वीरगंजस्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार गराई रहेका एक व्यवसायीको आइतबार मृत्यु भएको छ । वीरगंजको आदर्शनगर निवासी ६५ वर्षीय श्यामसुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि शुक्रबार साँझ उपचारको लागि नारायणी अस्पताल लगिएको थियो । बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको आइतबार बिहान साढे ६ बजे मृत्यु भएको र मृतकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।
एक सातामै वीरगंजमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको र संक्रमितको संख्या पनि बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अर्को आदेश नभएसम्मका लागि वीरगंज महानगर क्षेत्रभित्र शनिवारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये अहिले पनि ४ जनाको अबस्था गभ्भीर रहेको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो । यता, प्रदेश २ मा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम उच्च रहेको बेला कोरोना भाइरस (कोभीड– १९) को संक्रमणको परीक्षण गर्न आवश्यक भीटीएम ट्युको अभाव देखिएकोछ । प्रदेशको पूर्वी जिल्ला सप्तरीको सदरमुकाम राजविराज र पश्चिमी जिल्ला पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना भाइरस संक्रमण समुदायमा फैलिसकेको दावी गरिएको छ । यस्तो अवस्थामा पीसीआर टेस्टका लागि स्वाब संकलनमा प्रयोग हुने भीटीएम किटको अभाव भएको हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले ५० हजार भीटीएम खरिद गर्न बजेट विनियोजन गरेको थियो । तर संक्रमण फैलिने क्रममा कमि आउन थालेपछि प्रकृया अगाडि बढाइएको थिएन् । पर्सा, बारा र सप्तरी जिल्लामा मास लेवलमा नै पीसीआर परीक्षणको आवश्यकता परेको चिकित्सकहरुले बताउदै आएका छन् । यसैबीच कोरोना भाइरस संक्रमणको दर बढेसँगै मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै परिपत्र जारी गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ ।