पुष्पराज खतिवडा
बारा,बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।नेपाल प्रहरीको यही माघ ११ गतेको सरुवाबाट बारा आउनुभएका तामाङ्गले मंगलवार पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँकै कार्यकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा र सुभद्रा लामालाई संगै राखेर उपरीक्षक तामाङ्गले नागरिकको सुरक्षामा कुनै किसिमको दवाव, प्रभाव र मोलाहिजा आफ्नो कार्यकालमा नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता हो । न्याय निरुपणमा कुनै किसिमको दवाब प्रभावबाट काम हुन्न । हुने छैन ।’यस्तै सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा सुरक्षा जाँचलाई कडाई गरिने पनि उहाँले बताउनुभयो । चोरी तस्करी हुन नदिन नियमित गस्ती गर्दै हातहतियार तस्करी, कुनै पनि किसिमका अपराध नियन्त्रणमा मनोवैज्ञानिक सुरक्षा दवाव बढाईने उहाँको भनाई छ ।

सर्वसाधारणलाई सूचना उपलब्ध गराउने कार्यमा प्रेस जगतको भूमिका महत्वपूर्ण हुने बताउदै उहाँले पत्रकार र संचार संस्थाहरुको सुरक्षामा बारा प्रहरी सदैव प्रतिबद्ध रहेको सुनाउनुभयो । सत्य, तथ्य र निष्पक्ष समाचार गर्दागर्दै पत्रकारमाथि आइपर्ने समस्या समाधानमा र पत्रकारहरुको सुरक्षामा प्राथमिकता दिइने पनि उपरीक्षक तामाङ्गको भनाई छ ।

मनोबल उच्च राखेर काम गर्ने बताउँदै उहाँले प्रहरी आचरण सुधारमा समेत भूमिका खेल्ने बताउनुभयो । ‘आन्तरिक प्रहरी व्यवस्थापनमा चनाखो छु । मेरो कार्यालय परिसरमा न्यायको दलाली वर्जित हुनेछ, उहाँले भन्नुभयो, निर्दोष नफसुन र दोषी नउम्किन भन्नको लागि कानुनी मान्यतामा मानवीय सहयोग आवश्यक पर्छ ।’‘प्रहरी सबैको हो । देशको हो । संघ, प्रदेश र स्थानीय सबै तहको हो । हामीले सबैको सहयोगमा काम गर्नु पर्नेहुन्छ । जनप्रतिनिधि सहित सबैले कानुन अनुसार चल्दा समस्या आउँदैन ।’ उहाँले भन्नुभयो ।बाराका तत्कालिन प्रहरी प्रमुख महेन्द्र खड्का प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भई सरुवा समेत भएपछि बारा आउनुभएका तामाङ्ग यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०८० चैत्रमा डिएसपीबाट एसपी (उपरिक्षक) मा बढुवा हुनुभएको थियो ।

Leave a Reply