मुलुक यतिबेला कोभिडबाट लडिरहेको छ । हरेकको घरमा नै कोभिड पुगेको छ कि भन्ने आशंका र त्रासकाबीचमा नेपालीहरु बांच्नु पर्ने अवस्था सृजना भएको छ । नेपालमा कोरोनाको दोश्रो लहर शुरु भएपछि सबैलाई तनाब दिएको छ र जनजीवन पनि नराम्रोसंग प्रभावित भएको छ । सर्वसाधारणको दैनिकी पनि निक्कै कष्टकर बनेको छ ।
कोरोनाको पहिलो लहर केही कम भएका बेला राजनीतिक दलहरुले मुलुकभर आन्दोलन गरे । प्रधानमंत्री केपी शर्मा ओलीले गत पुस ५ गते चालेको एउटा कदमको विरुद्धमा नेपालका सबै मुख्य शहरहरुमा कम्यूनिष्टहरुले नै जात्रा देखाए भने कांग्रेस र अन्य दलले पनि जात्रा देखाएकै हुन् तैपनि राजनीतिक रुपले तत्कालका लागि देखिएको समस्या समाधान हुन सकेन ।
बरु आजको दिनसम्म आउदा राजनीतिक गतिविधि नै फरक दिशामा अगाडि बढिसकेको छ । अब कम्तीमा एक महिनाका लागि राजनीतिक दलहरुबीचको नाटक मंचन पनि सकिएको छ । हिजो आन्दोलनमा उक्साउने दलहरु अहिले कहाँ छन् भनेर आलोचना भइरहेको छ । अब राजनीतिक दलहरुले कोभिडको यो अवस्थामा आफ्ना नेता कार्यकर्तालाई परिचालन गर्न जरुरी छ ।