सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ अमलेखगन्जस्थित त्रिभूवन राजपथको पथलैया– हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।हलेसी पेट्रोल पम्पअगाडि सोमबार साँझ करिब ७ः३० बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०२–०५३ प ३७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०३–००२ ख २७१८ नम्बरको आइचर मिनी ट्रकले बायाँ साइडबाट ठक्कर दिएको थियो ।
सोही क्रममा पछाडिबाट आउँदै गरेको म.प्र.०३–०३८ प ११७६ नम्बरको अर्को मोटरसाइकलसमेत आपसमा ठोक्किन पुगेको ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला बारा, कलैया उपमहानगरपालिका– २० बसतपुर निवासी २४ वर्षीय रुपेशकुमार साहको नाक, मुख तथा टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा गएराति करिब ८ः३० बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोही दुर्घटनामा मोटरसाइकल चालक जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ निवासी अमरेन्द्र कुमार पटेलका २७ वर्षीय छोरा सुशील कुमार पटेल घाइते भएका छन् । उहाँको टाउको र निधारमा चोट लागेको र अवस्था मध्यम छ । घाइते पटेलको हाल अमलेखगञ्जस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न आइचर मिनी ट्रक तथा दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।















