राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी र सखुवाप्रसौनी गाउँपालिकामा आगलागी भएको छ । धोबिनी र सखुवाप्रसौनी गाउँपालिकामा आगलागीबाट ६ वटा घर जल्दा ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।धोबिनी गाउँपालिकाको वडा नम्बर ५ जगरनाथपुर नवकाटोलामा मंगलवार दिउँसो करिब २ बजे आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएका छन । विद्युत सर्टसर्किटबाट भएको आगलागी रहमत देवान, सम्साद देवान अमजत देवान, रजाक देवानको फुसको घर पुर्ण रुपले जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लंगडीका सहायक हवलदार रामकुमार साहले जानकारी दिनुभयो ।
आगलागीमा घरभित्र रहेको फर्निचर, धान, चामल, गहुँ, दाल, भाँडाकुडा लत्ताकपडा, गरगहना लगायतका सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीमा २५ लाख रुपौयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगोलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
यस्तै सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनिया गाउँमा सोमवार राती आगलागी हुँदा दुई घरसहित घरमा रहेको ९ गाई, वस्तु, खोसी, बाख्रा जलेर नष्ट भएको छ ।
आगलागीमा रफ मियाँ धुनिया, मनिफ मियाँको घरमा रहेको मोटरसाइकल, दुईवटा साईकल, फर्निचर, अन्न, कपडालता, खद्यान्न लगायत करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश कमिटीका उपकोषाध्यक्ष सलाउदिन अहमदले अग्नि पीडित ४ घर परिवारलाई राहत वितरण गर्नुभएको छ । त्यसैगरी अग्नि पीडित परिवारलाई धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान, गाउँपालिकाकी उपाध्यक्षका प्रतिनिधि श्यामकिशोर पटेल, वडा अध्यक्ष मनाउर मियाँ, राजकिशोर पटेल लगायतको टोलीले खाद्यन्न कपडा, भाडाकुडालगायत राहत सामग्री वितरण गरेको छ ।



















