वीरगञ्ज । नेपाली काँग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का अनिल रूङ्टा र क्षेत्र नम्बर २ का अजयकुमार चौरसियाले मङ्गलवार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।वीरगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवैले मनोनयन पत्र दर्ता गराएका हुन् । जुलुससहित पार्टी नेता, कार्यकर्ता र समर्थकहरूको उत्साहपूर्ण सहभागितामा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको थियो ।
व्यापारिक पृष्ठभूमिका अनिल रूङ्टा दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट निर्वाचित हुनुभएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा– १ बाट तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका प्रदीप यादवसँग पराजित हुनुभएका उहाँ गत निर्वाचनमा समानुपातिक सूचीमा सिफारिस भए पनि सांसद बन्न सक्नुभएको थिएन ।मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अनिल रूङ्टाले पर्सा– १ को विकास, अमन–शान्ति र नेपालको समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस एक ढिक्का भएर अघि बढिरहेको दाबी गर्दै नयाँ पुस्ताको नेतृत्वमा पार्टी रहेका कारण पर्सा मात्र होइन, देशभर काँग्रेसका उम्मेदवारलाई जनताले मत दिने विश्वास व्यक्त गर्नुभयो ।
उता, पर्सा– २ बाट उम्मेदवारी दिनुभएका अजयकुमार चौरसिया सोही क्षेत्रका निवर्तमान सांसद हुनुहुन्छ । कानुन मन्त्रीसमेत भइसकेका चौरसिया यो चुनावसहित पाँचौँ पटक संसदीय निर्वाचन लड्दैहुनुहुन्छ ।
मनोनयनपत्र दर्तापछि चौरसियाले देशको लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको बेला ५० वर्षदेखि लोकतन्त्रका लागि लडिरहेको नेपाली कांग्रेसले व्यवस्थालाई लिकमा ल्याउन र प्रहार गर्ने शक्तिहरूलाई परास्त गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।त्यसैगरी क्षेत्र नम्बर ३ बाट भने सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री रमेश रिजालले नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराउनुभएको छ ।
रौतहट– २ मा अफताब आलमका छोराको कांग्रेसबाट उम्मेदवारी
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् ।
उहाँ स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुनुहुन्छ । मंगलबार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।सो क्रममा उहाँले कांग्रेसले फिरदोसलाई उम्मेदवार बनाएको हो । यसअघिको निर्वाचनमा पनि उहाँ उम्मेदवार बन्नुभएको थियो ।त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँ किरण साहसँग पराजित हुनुभएको थियो ।
















