कोल्हबी,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बाराका ४ वटा निर्वाचन क्षेत्रबाट ११२ जनाले मनोनयन पत्र दर्ता गराएका छन ।जिल्ला निर्वाचन कार्यालय बाराले दिएको जानकारीअनुसार क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) बाट अच्युतप्रसाद मैनाली, नेपाली कांग्रेसबाट शम्भुबहादुर बुढाथोकी, नेकपाबाट सन्तोष दङ्गाल र जसपा नेपालबाट रामबाबु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनीहरुले मंगलबार कोल्हबीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराउनुभएको हो । कार्यालयले दिएको समय तालिकाअनुसार सबैभन्दै पहिले रास्वपा उम्मेदवार गणेश धिमालले मनोनयन पत्र दर्ता गराउनुभएको थियो भने त्यसपछि क्रमस नेकपा एमालेका मैनाली, नेपाली कम्युनिष्ट पार्टीका दङ्गाल, जसपा नेपालका यादव, राप्रपाका लक्ष्मी साह र नेकाका बुढाथोकीले सबैभन्दा अन्तिममा मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।उम्मेदवारहरुले कार्यकर्ताको जुलुससहित भेला भएर उम्मेदवारी दर्ता गराएका थिए ।
एमालेका मैनाली सोही क्षेत्रबाट ०७९ सालमा निर्वाचित हुनुभएको भने बुढाथोकी यो क्षेत्रबाट पहिलो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । त्यसैगरी नेकपाका दङ्गाल पहिलो पटक चुनावी मैदानमा उत्रिदा रास्वपाका धिमाल दोस्रो पटक प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । उहाँ ०७९ सालमा पनि सोही पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्नुभएको थियो ।
उम्मेदवारी दर्ता गराएपछि एमालेका मैनालीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा आफूलाई प्राप्त सहयोग, विश्वास र समर्थनका लागि मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै यसपटक पनि मतादानको लागि अपिल गर्नुभएको छ । उहाँले देशको अखण्डता, सार्वभौमसत्ता, सुशासन, समृद्धि तथा निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि विगतमा झैं यसपटक पनि जनताको माया, आत्मीय सहयोग र सुवेच्छाको अपेक्षा गर्दै आफू घरदैलोमा आएको बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका बुढाथोकीले क्षेत्रका मतदाताले नयाँ प्रतिनिधि खोजेकोले आफू उम्मेदवार बनेको बताउनुभएको छ । निर्वाचनमा विजयी भएपछि क्षेत्रको चौतर्फी विकासको लागि समर्पित बनेर काम गर्ने पनि बताउनुभयो ।
बारा क्षेत्र नम्बर २ बाट भने एमालेबाट बलवीर चौधरी, नेकाका भैयाराम यादव, नेकपाका रमेश यादव, रास्वपाका चन्दन सिंह, जसपाका रामकिशोर यादवलगायतले उम्मेदवारी दिएका छन । नेकाका भैयाराम यादव पहिलो पटक चुनावमा होमिनुभएको हो । त्यस्तै केही दिनअघि मात्रै लोसपा परित्याग गर्नुभएका सिंह ०७४ सालको निर्वाचनमा जिल्लाको देवताल गाउँपालिकाको अध्यक्ष पदमा लोसपाबाट विजयी हुनुभएको थियो ।क्षेत्र नम्बर ३ मा भने एमालेकी ज्वाला साह, नेकाका फरमुल्लाहा मन्सुर, जसपाका रामबाबु यादव, रास्वपाका अरविन्द्र साहलगायतले उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर श्रेष्ठले मनोनयन पत्र दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा उहाँ बाजागाजा र कार्यकर्ताका साथ कार्यालय पुग्नुभएको थियो ।यसअघि सोही क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) बाट चुनाव जित्नुभएका श्रेष्ठ केही समयअघि मात्रै नेकपा (एमाले) मा फर्किनुभएको हो ।उक्त क्षेत्रबाट नेकाका श्यामबाबु गुप्ता, नेकपाका सन्तोष कुशवाहा, रास्वपाका रहवर अन्सारी लगायतले उम्मेदवारी दर्ता गराएका छन ।

















