सिमरा,वन सुरक्षाकर्मीको टोलीले बाराको गढीमाई साझेदारी वन क्षेत्रबाट दाउरासहित दुई वटा टेम्पु नियन्त्रणमा लिएको छ ।गढीमाई साझेदारी वन समुह पथलैयाको वन क्षेत्रबाट व्यवसायिक प्रायोजनकोलागि दाउरा लोड गरि लैजादैँ गरेको अवस्थामा २ वटा टेम्पु नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय पथलैयाका सहायक वन अधिकृत ललन राउतले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको टेम्पु र दाउरालाई सब डिभिजन वन कार्यालय पथलैयाको नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो ।
चाड, पर्व लक्षित सुरक्षा गस्तीलाई तीव्रता दिने क्रममा टेम्पुसहितको दाउरा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका अधिकृत राजिवकुमार झाले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको टेम्पु र दाउराको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पथलैया– वीरगञ्ज औद्योगिक करिडोर नजिकका बासिन्दाहरुले यहाँको जंगलको दाउरा संकलन गरेर होटल र अन्य स्थानमा बिक्री गर्ने र दैनिक गुजारा चलाउने गर्दैआएका छन । यस क्षेत्रको जंगलबाट टेम्पु, साइकल, रिक्सा, मोटरसाइकल र टेक्टर जस्ता साधनको प्रयोग गरेर दैनिक ठूलो परिमाणमा दाउरा संकलन र बिक्री गर्ने गरिन्छ



















