कलैया,बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको तयारी तीव्र पारिएको छ ।मेला व्यवस्थापन मूल समितिले मन्दिर परिसरमा बधशाला व्यवस्थापन, मन्दिर रंगरोगन, हेलिप्याड र व्यापारिक स्लट निर्माण, बिजुली बत्ती जडान, शौचालय निर्माण, पार्किङ, खानेपानी, मेला प्रवेशका लागि सबै दिशाबाट बाहिरिने र भित्रिन सडक निर्माण, ट्राफिक व्यवस्थापनलगायतको तयारीको काम तीव्र बनाएको हो ।
मंसिर २३ र २४ मा दिइने बलिको दिन बढ्न सक्ने दर्शनार्थीलाई लक्षित गरी मेला तयारी सुरू गरिएको मेला व्यवस्थापन मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो । मेला लाग्ने मन्दिर वरिपरि धान खेत भएकाले किसानहरूले धमाधम धान काट्न थालेका छन् । मेलामा मनोरञ्जन लागि भारतबाट विभिन्न प्रकारका खेल तमाशाहरूको लागि पुर्वाधार तयारी गरिरहेका छन् ।
मेलाका लागि निःशुल्क स्वास्थ्य शिविर, भोजनको व्यवस्थापनसँगै व्यापारीहरूले बिक्री गर्ने सामान ओसार्न थालिएको छ । मनोकांक्षा पूरा हुने विश्वासले सर्वसाधारणले पशुपन्छी बलि चढाउने गर्छन् । तान्त्रिक विधिबाट बलिको अघिल्लो राति पूजा भई पञ्चबलि दिएर राँगा र अन्य बलि दिने चलन छ । अघिल्लो मेलामा झन्डै १० हजारको संख्यामा राँगाको बलि दिइएको र यो वर्ष थप संख्यामा राँगाको बलि दिइने मेला समितिको बलि व्यवस्थापन उपसमितिका सदस्य प्रेमप्रसाद साहले जानकारी दिनुभयो ।
गढीमाई मेलामा लाखौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मेलामानेपालका विभिन्न स्थान र भारतको पञ्जाब, हरियाणा, विहार, झारखण्ड, उत्तराखण्ड, उत्तरप्रदेश, दिल्ली, पश्चिम बंगालबाट दर्शनार्थी आउने गरेका छन् ।



















