डा. राजु अधिकारी

धेरै वर्ष पछि सबै कुरा अनुकुल भएकोले सन् २०१९ मा उनीहरु फेरि लाखौंको संख्यामा संसार भ्रमणमा निस्कन तयारी गर्दै थिए । उनीहरुको लागि संसार भ्रमणमा निस्कनु भनेको बाह्र वर्षमा लाग्ने कुम्भ मेला भर्न जानु जस्तै हुन्थ्यो । बाहिरी र भित्री वातावरण मिले पछि मात्रै उनीहरु आफ्नो साविकको स्थान छोडेर संसार भ्रमणमा निस्कन सक्थे । समुद्रमा वायुको चाप, तापक्रम, मरुभूमीमा वर्षा जस्ता धेरै कुराहरु मिले पछि मात्र उनीहरुले चाहिएको मात्रामा बच्चा उत्पादन गर्न सक्थे र संसार भ्रमणको लागि आवश्यक संख्या पुग्थ्यो । संसार भ्रमण गर्ने, मिठा मिठा खानेकुरा खाने रहर त सबैलाई हुन्थ्यो नै तर त्यो मौका सितिमिति आउँदैनथ्यो र अधिकांश पिंढीले संसार देख्न नपाई नै प्राण त्याग गर्न बाध्य हुन्थे । त्यसैले संसार घुमेर रमाउने अवसर उनीहरु मध्ये एकदम कमलाई मात्र प्राप्त हुन्थ्यो ।

अरबियन मरुभमूमिमा धेरैपछि त्यस्तै अनुकुल वातावरण बनेपछि उनीहरु धेरै वर्षपछि संसार भ्रमणमा निस्कन थालेका थिए । कसैले कता जाने योजना बनाएका थिए भने कसैले कता । उनीहरुकोलागि सबभन्दा सजिलो त अफ्रिका जानु थियो । उनीहरुको वासस्थानबाट अफ्रिका नजिक भएकोले केही दिनको यात्रामै सजिलै अफ्रिका पुग्न सकिन्थ्यो । त्यसको अतिरिक्त उनीहरुको हावापानी पनि मिल्ने अनि अफ्रिकामा निकै मिठा मिठा कलिला र पोषिला खानाहरु पाइने हुनाले अधिकांशको पहिलो रोजाइ अफ्रिका नै हुन्थ्यो ।

चीन र थाइल्याण्ड जाने हिम्मत उनिहरुमा थिएन किनभने त्यहाँ पनि उनीहरुलाई निकै पोशिलो खानाको रुपमा खाइन्थ्यो । सोझै उत्तरतिर

लाग्दा चिसोले गर्दा मररिने डर हुन्थ्यो । सोझै पश्चिम जाँदा समुद्रमा पुगिन्थ्यो । त्यसैले उनीहरु प्रायः या त अफ्रिका, नभए मरुभूमिबाट पूर्वतिर जान्थे । अफ्रिका जान मन नगर्नेहरुले आफ्नो यात्रा पूर्व उत्तर दिशातिर तय गर्ने योजना गराएका थिए ।

 

सबै परिस्थिति मिलेपछि एक दिन लाखौंको संख्यामा उनीहरु मरुभूमीबाट बाहिर आएर आफ्नो यात्रामा निस्के । यात्रा निकै कठिन पनि हुन सक्थ्यो तर निकै रमाइलो पनि थियो । बाटोमा कुनै कारणवश आकस्मिक हावापानी परिवर्तन भयो भने पूरै टोली नै सखाप पनि हुन सक्थ्यो । त्यसैले उनीहरु होसियार भएर यात्रा गर्दै थिए ।

एउटा झुण्ड यमन, साउदी अरेबिया, सोमालिया, इजिप्ट हुँदै केन्यासम्मको यात्रामा निस्क्यो भने अर्को एक हुल चाहिं उत्तर पूर्व तिर लाग्यो । उत्तर पूर्व लागेको टोलीको इरान र पाकिस्तान हुँदै भारतको बाटो भएर नेपाल छिर्ने योजना थियो । उनीहरु मध्ये कसैले पनि नेपाल नदेखे पनि पुस्ता दर पुस्ता हुँदै सुनेका कहानीहरुबाट उनीहरुले नेपाल पक्कै पनि निकै राम्रो होला भनेर कल्पना गर्न सक्थे । जताततै हरीयाली, सुन्दर कलिला र स्वादिष्ट पालुवाहरु, सुरम्य मौसम अनि शान्तिपूर्ण वातावरण- यही नै थियो उनीहरुले कल्पना गरेको नेपाल ।

नेपालको सुन्दर तस्विर मनमा साँचेर त्यहाँ पुगेपछि स्वर्गमा नै पुगेको होला जस्तो कल्पना गर्दै उनीहरु आफ्नो यात्रामा अगाडी बढे । बाटोमा

कहिलेकाहिँ केही कठिनाइहरु पनि आइपरे । कतै प्रचण्ड गर्मी त कतै चरम सुख्खापन अनि कतै चाहिँ उनीहरुलाई आहार बनाउने चराहरुको बिगबिगी । ती सबैलाई पार गर्दै उनीहरुले आफ्नो यात्रा जारी राखे । उदेश्य प्रष्ट भएपछि यात्रामा त्यति थकान हुँदैन त्यसैले नेपाललाई मुटुमा राखेर जसरी पनि त्यहाँ पुग्ने दृढ निश्चय लिएर अगाडि बढेपछि उनीहरुले थकानलाई पनि वेवास्ता गरेका थिए । उनीहरु बाटोमा परेका इरान र पाकिस्तान पार गर्दै सन् २०२० मा भारत पसे । भारत पसेपछि नेपाल नजिकै छ भन्ने उनीहरुलाई थाहा थियो । तर त्यहाँबाट उडेको धेरै दिन भैसक्दा पनि उनीहरु नेपाल पुगेको अनुभव गरेनन् । त्यति धेरै दिन पछि पनि पुग्ने संकेत नदेखेपछि चाहिँ उनीहरुले आशा मार्न थालेका थिए अनि एकछिन् बाटोमा सुस्ताउन रुके ।

अब कति लाग्ने रहेछ एक पटक सोध्नु पर्‍यो भन्ने विचार गरेर उनीहरु मध्येको एउटाले अलि पर पसेको एउटा ख्याउटे सलहलाई सोध्ने विचार गर्‍यो । त्यो ख्याउटे सलह उनीहरुको झुण्डको हैन भन्ने कुरा देख्दै थाहा हुन्थ्यो । पक्कै पनि स्थानिय सलह होला भनेर उसले सोध्यो, “ए भाइ नेपाल पुग्न अब कति टाढा छ?”

“कुन नेपालको कुरा गर्नु हुन्छ? कतिवटा नेपाल छन् र? यही हो नेपाल” ख्याउटे सलहले व्यङ्ग्यको लवाजमा भन्यो ।

“उसो भए हामी नेपाल पसिसक्यौं त? कतै सिमानाको छनक छैन त” उसले शंका मान्दै सोध्यो ।

“के को सिमाना? सबै खुल्ला छ यहाँ, यही हो नेपाल” उसले भन्यो ।

“तर यहाँ त सबै खेत बारी खालि खालि छन् त । उजाड जस्तो छ । हामीले त नेपालमा यो मौसममा जताकतै हरियाली हुन्छ भन्ने सुनेका थियौं त?” उसले भन्यो ।

“हरियाली हुनुपर्ने मौसम त हो तर मान्छेहरुले खेति नै नगरे पछि कसरी हुन्छ त हरियाली?” ख्याउटेले स्पष्टिकरण दियो ।

“खेति गर्दैनन रे? किन गर्दैनन् त?” उसले सोध्यो ।

“सबै विदेशमा सजिलो काम खोज्न गएका छन्, अनि कस्ले गर्छ त खेती?” ख्याउटे सलहको उत्तर थियो ।

“अनि के खान्छन् त यहाँका मान्छेले?” अचम्म मान्दै उसले सोध्यो । उसको झुण्डका अरु सलहरुले पनि त्यो सुनेर अचम्म मान्दै एकअर्कलाई हेरे ।

“विदेशमा कमाएको त्यही पैसाले भारतबाट अन्न भित्र्याउँछन् अनि त्यही खान्छन्” ख्याउटेले सजिलो उत्तर दियो ।

“ओ हो, बेकारमा आइयो जस्तो पो भयो त उसो भए अब हामीले यहाँ हरियाली देख्न पाउँदैनौ त?” अलि पछुतोको भावमा उसले सोध्यो ।

“अलि भित्र तिर जानुस् एक दुई ठाउँमा कतै कतै भेटिन्छ होला” ख्याउटेले उत्तर दियो ।

त्यसपछि ख्याउटे सलहलाई धन्यवाद दिएर उनीहरुको झुण्ड अलि उत्तरतिर लाग्यो ।

केही समयको यात्रा पछि उनीहरुले विशाल हरियो फाँट देखे । त्यो देखेर सबै मख्ख परे । मकैका कलिला पालुवाहरु भरखर जमिनबाट जुर्मुराउँदै उठ्न लागेका थिए । वास्तविक नेपाल त यो पो हो त भन्ने सोचले उनीहरुको मनै प्रफुल्ल भयो । टाढैबाट ती पालुवाहरुको बासनाले उनीहरुलाई मोहित बनायो । एकछिनमै उनीहरु त्यहाँ पुगे र फटाफट मकैका कलिला पातहरु टोक्न थाले । तर ती पातहरुको स्वाद निकै खल्लो थियो । उनीहरुलाई शंका लाग्यो र फेरि त्यहीं बसेको अर्को स्थानिय जस्तो देखिने ख्याउटे सलहलाई भेटेर उनीहरुले त्यसको बारेमा सोधे, “हैन, कति नमिठो स्वाद हो? नेपालमा त निकै स्वादिला कलिला मुनाहरु पाइन्छन् भन्थे त ।”

“प्राकृतिक भए पो स्वादिलो हुन्छ । आजभोलि सबै मान्छेले विकासे जातको बाली लगाउँछन् अनि कहाँबाट स्वाद आउँछ? हामी त यसमै बानी परिसक्यौं, मलाई त मिठै लाग्छ” उसले उत्तर दियो ।

तर मिठो नलागेपनि पेट त भर्नै पर्‍यो । देख्दै खाऊँ खाऊँ लाग्ने तर निकै खल्ला ती मकैका पातहरुले पेट भरेपछि उनीहरु एकछिन् सुस्ताउन थाले । तर त्यही बेला उनीहरुलाई वान्ता आउला जस्तो भयो । पेट र टाउको पनि दुख्यो ।

धेरै दिनको थकानले होला भनेर उनीहरुले त्यति वास्ता गरेनन् । तर वास्ता नगरे पनि त्यो बिरामी कम भएन बरु बढ्यो । धेरैले वान्ता पनि गरे ।

“विकासे मल हालेको खाने बानी छैन जस्तो छ नि?” त्यही पहिलेको ख्याउटे सलहले उनीहरुको दशा देखेपछि टिप्पणी गर्‍यो ।

“के भनेको?” उनीहरुले सोधे ।

“तिमीहरुलाई क्यै भा हैन, यो रासायनिक मलको अत्यधिक प्रयोगले गर्दा भएको हो । पहिले पहिले हामीलाई पनि यस्तै हुन्थ्यो । अब त दिन दिनै त्यही खान थालेपछि थाहै हुँदैन । तर यसले हाम्रो आयुमा चाहिं असर गर्छ । मान्छेले चाहिने भन्दा बढि विकासे मल हाल्न थालेका छन् । विकासे मल हालेको खान थालेपछि हामी पनि बिरामी पर्ने नाना थरि रोग लागेर छिट्टै मर्ने समास्यबाट पिडित छौं तर के गर्ने, भोकै मर्ने कुरा पनि भएन” उसले प्रष्ट पार्‍यो ।

“अनि सबैतिर यस्तै हो त?” निराश हुँदै उनीहरुले सोधे ।

“खै अन्त त म भन्न सक्दिन तर यतातिर सबै यस्तै छ । अलि माथि तिर राम्रो र प्राकृतिक पनि हुन सक्छ तर म चाहिँ गएको छैन” उसले अलिकति आशा दियो ।

त्यसपछि उनीहरु त्यो ठाउँ छोडेर माथितिर लागे । सबैजसो बिरामी नै थिए । पेट र टाउको पूरै निको भएको थिएन । बाटोमा बिसाउँदै उनीहरु अर्को स्थानमा पुगे । त्यहाँ विशाल खेतको फाँटमा तरकारीको खेति गरिएको थियो । धेरै थरि तरकारीहरु निकै मिलाएर लहरै रोपिएको थियो । कोही भर्खर हुर्कँदै थिए, कोही फुल्दै थिए, कोही फलिसकेका थिए भने कति चाहिँ काट्ने चरणमा पनि पुगिसकेका थिए । त्यो सुन्दर तरकारीको फाँट देखेर उनीहरुलाई अलिकति भए पनि आशा लाग्यो र भोक पनि जाग्यो । अनि भोकाएका केही सलहहरु तरकारीबारीमा पसेर धमाधम तरकारीका पात फुल, फल जे भेटिन्छ त्यही खान थाले । अलि पर बाट फेरि अर्को ख्याउटे सलह चिच्याउँदै आयो । पहिले त उसले के भन्छ भनेर उनीहरुले बुझेनन् तर नजिकै आएर भनेपछि बुझे । उसले ‘त्यो तरकारी नखाऊ’ भन्दै थियो ।

“के तिमीहरुले मात्र खान पाउने हामीले खान नपाउने? तिम्रो हो र?” भनेर झुण्ड भित्रबाट एउटा अलि खाइलाग्दो सलह निस्केर ख्याउटे सलहलाई चुनौती दियो ।

“मैले मेरो भनेको छु र?” ख्याउटे सलहले भन्यो ।

“अनि हामीले किन खान नपाउने त?” उसले सोध्यो।

“ती तरकारीमा विषादी हालेको छ, खाएपछि मरिन्छ, त्यसैले नखाऊ भनेको” उसले उत्तर दियो ।

त्यो सुनेर सलहहरु झस्के । खानमा तल्लिन सलहहरु पनि रुके तर ढिलो भैसकेको थियो । एकछिनपछि तरकारीका पात र फलफुल खाएका सलहहरु बिरामी पर्न थाले । वान्ता गरेर मुखबाट फिंज निकाल्दै उनीहरु धमाधम मर्न थाले । साथीहरु त्यसरी मर्न थालेको देखेर अब त्यहाँबाट भाग्नु बाहेक अरु कुनै उपाय छैन भनेर बाँकी रहेका उनीहरु त्यहाँबाट कुलेलम ठोके ।

अब कता जाँदा ठिक होला भनेर उनीहरुले बाटोमा सल्लाह गरे । मानिसले लगाएका अन्न पात र तरकारी खानु भनेको आत्महत्या गर्नु जस्तै हो भनेर उनीहरुले बुझिसकेका थिए ।

‘अब प्राकृतिक पालुवाहरु खानु बाहेक अरु उपाय छैन । बरू कतै जङ्गलतिर लागौं भन्ने सल्लाह गरेर उनीहरु जङ्गलको खोजी गर्न थाले । तर जङ्गल पनि त्यति सजिलै कहाँ पाउनू र? सबैजसो जङ्गल फँडानी भएर सखाप भैसकेका थिए । जङ्गलको खोजीमा जताततै भौंतारिंदा उनीहरु उजाड लाग्ने स्थानमा पो पुगे । अब भएन, फर्कनु पर्‍यो भनेर उनीहरुले फर्कने विचार गरेर त्यो रात त्यही उजाड स्थानमा बिताएर अर्को दिन बिहानै फर्कनको लागि उनीहरुले आफ्नो यात्रा शुरु गरे । फर्कँदा बाटो भुलेर उनीहरु अर्को बाटोतिर लागे । बाटोमा काठमाण्डौं पर्ने रहेछ । परबाट त्यति धेरै मान्छे, त्यति धेरै घरहरु देखेर उनीहरुले त्यहाँ भेटेको एउटा स्थानिय सलहलाई सोधे, “कुन ठाउँ हो यो?”

“नेपालको राजधानी काठमाण्डौं हो” उसले उत्तर दियो ।

राजधानी पुगेको थाहा पाएर उनीहरु ढुङ्गा खोज्दा देउता पाए जस्तो खुशी भए । राजधानी भनेपछि त पक्कै पनि सबै कुरा राम्रो होला, पक्कै पनि स्वच्छ र स्वस्थ विरुवाका पात र फलफुलहरु खान पाइएला भनेर खुशी हुँदै निकै आशा र उत्साह बोकेर समय खेर नफालेर उनीहरु त्यतातिर हान्निए । राजधानी शहर पुग्नै लाग्दा उनीहरु आकाशमा धुवाँ र धुलोले निसास्सिन थाले ।

“के हो यस्तो धुवाँ?” एउटा सलहले खोक्दै सोध्यो ।

“कुहिरो होला, एकछिनमा फाट्छ” अर्को एउटाले अनुमानको आधारमा उत्तर दियो ।

त्यसैलाई विश्वाश गरेर उनीहरु शहरभित्र पसे । तर दिउसो हुँदासम्म पनि काठमाण्डौंको त्यो ‘कुहिरो’ फाटेन, बरु झन् पछि झन् बढ्दै गयो । धेरै भन्दा धेरै सलहहरु निसास्सिन र खोक्न थाले । जति जति शहर भित्र गयो प्रदुषण त्यति त्यति बढ्दै थियो । पछि उनीहरुले थाहा पाए त्यो कुहिरो नभएर प्रदुषण थियो । त्यो थाहा पाएर ‘अब यहाँ बस्न सकिदैन’ भन्ने निष्कर्ष निकालेर उनीहरु त्यहाँबाट भाग्न थाले । तर प्रदुषण यति धेरै थियो कि काठमाण्डौंबाट बाहिर निस्कन नपाउँदै उनीहरु सबैले निस्सासिएर आकाशमै प्राण त्याग गर्दै धमाधम जमिनमा झर्न थाले । मरुभूमीबाट सुन्दर कल्पना बोकेर नेपाल यात्रामा निस्केका सलहहरुको यात्रा यत्तिकैमा टुङ्गियो।

अर्कोतिर बाली नाली सखाप पार्न आएका सलहहरु त्यति सजिलै मरेको देखेर मानिसहरुले खुशी मनाए । आफूहरुले केही पनि नगरी सलह मरेको देख्दा मानिसहरुले निष्कर्ष निकाले- नेपालको हावापानी र वातावरण कति राम्रो र मानव मैत्री रहेछ, त्यो खप्न नसकी सलहहरु आफै मरे ।

साभार साहित्य पाेस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here