दुष्यन्त चौधरी

कलैया – हालै मात्र सरुवा भएर बारामा कार्यभार सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाबासीको विश्वास जित्दै प्रशासनलाई जिम्मेवार र उत्तरदायी बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
उहाँले जिल्लामा देखिएको मुख्य चुनौती राष्ट्रिय परिचयपत्र (एनआईसी) सेवामा भएको अवरोध रहेको उल्लेख गर्नुभयो । “माथिल्लो निकायको सर्भर डाउन हुँदा सेवाग्राहीलाई दैनिक समस्या भोग्नुपरेको छ, तर हामी यहाँको टिमसहित समाधानमुखी ढंगले अगाडि बढिरहेका छौँ,” पौडेलले बताउनुभयो । कर्मचारी अभाव भए तापनि सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वास्थ्य क्षेत्रका चुनौतीबारे बोल्दै उहाँले दर्ता सम्बन्धी अधिकार स्थानीय तह र प्रदेश सरकारलाई रहेकाले जिल्ला प्रशासनले सहकार्यका आधारमा अघि बढ्ने स्पष्ट गर्नुभयो । उहाँले क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै कार्य नगर्ने, बरु सच्याउनुपर्ने कमजोरी सच्याएर मात्र अघि बढ्ने नीति लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“सुशासन भनेको पारदर्शिता, जवाफदेहिता र जनताप्रतिको उत्तरदायित्व हो । त्यसका लागि सबै तहबीच सहकार्य आवश्यक हुन्छ,” पौडेलले भन्नुभयो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित प्रशासनका अधिकारीहरूको पनि उपस्थिति थियो ।


















