सिमरा,बाराको सिमरामा मंगलबारदेखि मधेस बालिका सम्मेलन सुरु भएको छ । ‘सक्षम बालिका, समृद्ध मधेस’ भन्ने नारासहित बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालको आयोजनामा आजबाट मधेस बालिका सम्मेलन शुरु भएको हो ।
सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट ९० जनाभन्दा बढी किशोरकिशोरी सहभागी छन् । प्रत्येक जिल्लाबाट ६ जना किशोरी र २ जना किशोरको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सम्मेलनको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । उद्घाटन समारोहमा नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादव, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, महिला मानव अधिकारकर्मी निभा सिंहलगायतले सम्बोधन गरेका थिए ।सम्मेलनले बालिकाहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक विकृतिविरुद्ध आवाज उठाउने प्रेरणा दिने विश्वास वक्ताहरूको भनाई थियो । कार्यक्रममा किशोर किशोरीहरूले बालविवाह र दाइजो प्रथाविरुद्ध सचेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा मानसिक स्वास्थ्य, साइबर सुरक्षा, खुला सिमानाबाट उत्पन्न जोखिम, दाइजो प्रथा तथा बालविवाह रोकथामका विषयमा रणनीतिक छलफल हुने हाम्रो प्रयास संस्थाका ओमप्रकाश गिरीले जानकारी दिनुभयो ।
बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालको आयोजनामा सुरु भएको सम्मेलनमा हाम्रो प्रयास, सखी, लाइफ नेपाल, महिला सचेतना समूह, दलित विकास फोरम, मुक्ति नेपाल र परिकल्पना नेपाल सहआयोजक संस्थाका रूपमा रहेका छन् । बालिका सम्मेलन कार्यक्रमकी संयोजक सन्ध्या पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सहजीकरण मोरियम खातुनले गर्नुभएको थियो । कार्यक्रम संयोजक प्रसंशा सिंहले सम्मेलनको उदेश्यबारे प्रकाश पार्नुभएको थियो ।



















