सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका– १० देवापुर टेटा टोलमा विगत लामो समयदेखि भारतीय नक्कली भिखारीको एउटा समूह गाउँका चरा समातेर बिक्री गर्ने कार्यमा सक्रिय रहेको छ ।करिव १ सय जनाको संख्यामा रहेको नक्कली भिखारीहरुको सो समूह टेटा टोलमा टेन्ट गाढेर ६ महीनादेखि बस्दैआएको छ । उनीहरुले पंक्षी समात्न नेपाली नम्बर प्लेटको गाडीसमेत प्रयोग गर्ने गरेका छन । उनीहरूले बा १४ च ५०६७ नम्बरको म्याजिक भ्यान गाडी प्रयोग गर्दैआएका हुन ।
भिखारीको भेषमा गाउँघर, खेतबारी, नदी र पोखरीमा पुगेर चरा तस्करहरुको सो समूहले कानुन विपरित संरक्षित तथा दुर्लभ पंछीलाई जाल प्रयोग गरेर समात्ने सीमापारि भारतमा पु¥याएर बिक्री गर्ने गरेको स्थानीयको भनाई छ । समूहका पुरुषहरु बिहान विभिन्न ठाउँमा पुगेर पंक्षी समात्ने र महिलाहरू भने भेष बदलेर दिनभरि भिक्षा माग्ने कार्यमा संलग्न रहने गरेको देखिएको बताइएको छ ।भिखारीको भेषमा पंक्षी तस्करहरूको गतिविधि बढेकोप्रति सरोकारवाला निकायले ध्यान नदिएकोभन्दै स्थानीयले गुनासो गरेका छन । भिखारीको नाममा गाउँमा भइरहेको गतिविधिले पर्यावरण संरक्षण र समाजिक मूल्य मान्यतामा नकारात्मक असर पारिरहेको उनीहरूको गुनासो छ ।
यस किसिमका गैरकानुनी तथा समाजविरोधी गतिविधि रोक्न राज्यका सम्बन्धित निकाय तथा सरोकारवाला संस्थाहरूले शीघ्र ध्यान दिइ आवश्यक छानबिन तथा कडा कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।मानव निर्मित प्रचीन पोखरीहरुको लागि प्रसिद्ध सिम्रौनगढ क्षेत्रमा हिउँदको समयमा साइबेरिया-उत्तरी हिमाली क्षेत्रबाट चराहरूले बसाइँसराइ गर्ने गरेका छन । जाडो मौसम छुल्न र पर्याप्त खानाको लागि उपयुक्त वातावरण खोज्दै यहाँका नदी तथा पोखरीहरु वर्षेनी हजारौंको संख्यामा चरा आउने गरेका हुन ।



















