नरेश गुप्ता,सिकिन्द्र साह,

सिम्रौनगढ,नेपालको सीमा क्षेत्रका रक्षा गर्ने मधेशी नै सच्चा राष्ट्रवादी भएको गृहमन्त्री बालकृष्ण खाँडले बताउनुभएको छ । बाराको सिम्रौनगढमा सोमवार नेपाली काङ्ग्रेसका पूराना नेता स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले नेपाली भूमिको सुरक्षा मधेशै दाजुभाइ एवम् दिदी बहिनीले गरिरहेको तथ्य कसैले नकार्न नहुने बताउनुभयो । सरकारले सिमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई पर्याप्त स्रोत साधन उपलब्ध गराउन नसकेको अवस्थामा सीमा क्षेत्रमा बसोबास गरिरहेका जनताहरुले नै सीमाको पहरेदारी गरीरहेको खाँडको भनाइ छ ।

नेपाललाई सबल र समृद्ध बनाउन जात, धर्म एवम् सम्प्रदायभन्दा माथि उठेर सबै नेपाली जनता एकताको सुत्रमा बाँधिनुपर्नेमा गृहमन्त्री खाँडले जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘देशलाई बलियो बनाउनका लागि काङ्ग्रेस बलियो हुन आवश्यक छ । आउने निर्वाचनमा काङ्ग्रेसलाई धेरै भन्दा धेरै ठाउँमा जिताउन सबै लाग्नुहोस् । मधेशको विकास भएपछि देशको विकास हुन्छ । देशको विकासका लागि काङ्ग्रेसले जित्न आवश्यक छ ।’

पहाडी र मधेशीबीचको विभेदलाई हटाएर मधेश प्रदेशलाई उत्कृष्ट एवम् विकसित प्रदेशको रुपमा विकास गर्न काङ्ग्रेसले नै पहल गर्ने पनि मन्त्री खाँडले बताउनुभयो । देशमै जन्मिएर हुर्किएकाहरुलाई नागरिकताबाट बञ्चित गर्न नहुने बताउँदै गृहमन्त्री खाँडले सरकारले छिट्टै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने पनि बताउनुभयो ।

गृहमन्त्री खाँडले अमेरिकी अनुदान सहयोग एमसीसी सैन्य गठबन्धन नभएर अनुदान भएको पनि स्पष्ट पार्नुभयो । एमसीसी कार्यान्वयन भएपछि अमेरिकी सेना नेपालमा आउने कुरा अफवाह मात्रै भएकाले भ्रममा नपर्न उहाँको आग्रह छ ।

देशलाई सबल बनाउनका लागि एमसिसी पारित गरेको बताउँदै परियोजनाबाट नेपालको वैदेशिकर व्यापार घाटा कम हुने पनि खाँडको विश्वास छ ।

कार्यक्रममा कांग्रेश प्रवेश गर्ने जसपा नेपालका केन्द्रीय सद्स्य मोहन कुशवाहा, सिम्रौनगढ नगर उपप्रमुख रिमाकुमारी कुशवाहा, बारागढी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष निरज साहलगायत सयौंलाई गृहमन्त्री खाँडले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मंसुर, खानेपानीमन्त्री उमाकान्त चौधरी, पूर्वकेन्द्रीय सद्स्य राधेचन्द्र यादव, कांग्रेश बाराका सभापती राजेश राय यादव, नेपाली कांग्रेस मधेस प्रदेश सभापती कृष्णा यादव लगायत नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा नेपाली कांग्रेश बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती एंव सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले गृहमन्त्री खाँडलाई नेपाल–भारत सिमा नाका पूर्ण रुपमा खोलाउन ज्ञापनपत्र बुझाउनु भएको थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती बिजयशंकर यादवको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सिकेन्द्र पासवानले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here