राजधानी मात्रै होइन मुलुका धेरै शहर कुरूप बनाएको विद्युतीय तार अब भूमिगत हुने भएको छ । संसारका विकसित मुलुकमा सय वर्ष अघिदेखि प्रयोगमा आएको यस्तो व्यवस्था नेपालमा कार्यान्वयन गर्न अभियानकै रूपमा ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अभियानको शुरुआत गर्दै अब राजधानीलाई सांच्चिकै राजधानीजस्तै बनाउने अभियान शुरू भएको घोषणा गर्नुले पनि अब यो परियोजना सार्थक बन्ने देखिएको छ । महाराजगन्जबाट यस परियोजनाको शुरुआत गरिएको छ । विश्वमा सबैभन्दा पहिलो अमेरिकाको न्यु योर्क शहरमा बिजुलीको तार भूमिगत गर्ने कामको थालनी भएको हो ।
सन् १८८० मा थोमस एडिसनले यस कार्यको थालनी गरेका हुन् । सुरक्षा र सौन्दर्य दुवै दृष्टिले महत्वपूर्ण यस कार्यलाई क्रमशः विश्वका अन्य विकसित मुलुकहरूले सभ्यताका रूपमा स्वीकार गर्दै गए । नेपालमा ढिलै भए पनि यस कामको शुरुआत भएको छ ।सात अर्ब रुपियांको लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको यस योजनाको पहिलो चरणमा ४ सय ५० किलोमिटर तार भूमिगत गरिने भएको छ । यस अभियानलाई शुरूमा काठमाडौंमा मात्रै गरिने र त्यसपछि ललितपुर भक्तपुरमा यो अभियान सञ्चालन हुने प्राधिकरणले घोषणा गरेको छ ।
उपत्यकामा उक्त अभियान सम्पन्न भएपछि यसलाई देशभर नै लैजाने योजनामा प्राधिकरण रहेको छ । खर्बौं रुपियां खर्च हुने अभियानलाई वर्तमान सरकारले राष्ट्रिय गौरवका आयोजनालाई जस्तै महत्व दिएको छ । सरकारले यस्तै खालका विकासका आयोजना सञ्चालनमा ध्यान दिनुपर्दछ ।मुलुकभर सञ्चालन भएका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पक्षमा देखिएको ढिलासुस्तीले मुलुकले करोडौं रुपियां थप व्ययभार बेर्होनुपरेको छ । यो आयोजना पनि राष्ट्रिय गौरवको आयोजनाजस्तै कछुवाको गतिमा अघि बढ्ने त होइन भन्ने प्रश्न राजधानीबासीको छ । राजधानीबासीले गरेको शंकालाई राज्यले मिथ्या सावित गर्न तोकिएकै समयमा उक्त परियोजना सम्पन्न हुनुपर्दछ ।