आर.के. चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२-०८३ अन्तर्गत बुधवारबाट सखुवाप्रसौनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको उक्त तालिम आज सम्पन्न भएको हो ।
तालिम कार्यक्रम सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मीला बिष्ट महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, नेशनल मेडिकल कलेजका प्राध्यापक डा. पुरुषोत्तम सिंह, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का डा. कमलेश यादव तथा मधेश प्रदेशका सहजकर्ताको उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजकले समुदायस्तरमा बढ्दै गइरहेका मानसिक स्वास्थ्य समस्या तथा मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोगहरूको प्रभावकारी पहिचान, उपचार र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गर्नु रहेको बताएका छन् ।कार्यक्रमको अध्यक्षीय मन्तव्य राख्दै उपाध्यक्ष शर्मीला बिष्ट महतोले मानसिक स्वास्थ्य तथा नसर्ने रोग आजको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता तालिमहरूले स्वास्थ्यकर्मीहरूलाई अद्यावधिक ज्ञान प्रदान गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार यादवले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखी विभिन्न जनस्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो ।
नेशनल मेडिकल कलेजका प्राध्यापक डा. पुरुषोत्तम सिंहले मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरूको वैज्ञानिक पक्षबारे प्रकाश पार्दै प्रारम्भिक पहिचान र समयमै उपचार भएमा धेरै जटिलताहरू न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले समुदायस्तरमा जनचेतना फैलाउन स्वास्थ्यकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, मार्केटिङ म्यानेजर जितेशचन्द्र दासले स्वास्थ्य सेवा प्रवाहमा सहकार्य, समन्वय तथा नवीन प्रविधिको उपयोग आवश्यक रहेको उल्लेख गर्दै निजी तथा सरकारी क्षेत्रबीचको सहकार्यले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवै सुधार गर्न सकिने बताउनुभयो ।विश्व स्वास्थ्य संगठनका डा. कमलेश यादवले ध्ज्इ ले मानसिक स्वास्थ्य तथा नसर्ने रोगलाई प्राथमिकतामा राख्दै नीति, कार्यक्रम र प्रविधिमार्फत सहयोग गर्दै आएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा सञ्चालन हुने यस्ता तालिमहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका सहजकर्ताले तालिमको सञ्चालन प्रक्रिया र प्रभावकारिताबारे प्रकाश पार्दै सहभागी स्वास्थ्यकर्मीहरूलाई सिकेका विषयहरू कार्यक्षेत्रमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले तालिमको औचित्य र उद्देश्य स्पष्ट पार्दै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता पुनर्ताजगी तालिमहरू अत्यावश्यक रहेको बताउनुभयो ।कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले तालिम उपयोगी, व्यवहारिक तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका छन् ।
















