जीतपुर,सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराले जीतपुरबाट ठुलो परिमाणमा अबैध भन्सार छलीका सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको टोलीले शनीवार बिहान जीतपुर बजारमा चेकजाँच गर्ने क्रममा सो अबैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेलको कमान्डमा खटेको टोलीले सो सामान बरामद गरेको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छलीका ३ ओटा हिरोहोन्डा मोटरसाइकलमा ल्याउदैँ गरेको करिब ६ लाख ८० हजार बराबरको सामान बरामद गरेको जानाएको छ । चेकजाँच गर्दा लेडिज रेडिमेट कपडाका साथै स्टेशनरीका सामान अबैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको देखेपछि मोटरसाइकलसहित प्रहरीले सामान नियन्त्रणमा लिएको हो । मोटरसाईकल र सामान सहित करिब १० लाख ३० हजार हुन आउने सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणले पर्साको बहुदरमाई नगरपालिका–५, डकैला चोकबाट अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ७५ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।गणबाट खटिएको टोलीले तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७५ कार्टुन (७,५०० गोटा) चल्ला नियन्त्रणमा लिएको हो । बरामद गरिएका चल्लाहरूलाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नम्बर १३ गण परिसरभित्रै नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्। नेपालमा ब्रोइलर कुखुराका चल्ला लगायतका केही कृषिजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाइएको छ।
कलैयाबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेटसहित चारजना पक्राउ
कलैया,जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध नाइट्रोभेटसहित चार जनालाई पक्राउ गरेको छ ।कलैया उपमहानगरपालिका– ६ हनुमान चोकस्थित स्थानमा लागुऔषधको लेनदेन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट १० लेखिएको ३५ पत्ता (कुल १०३५ ट्याबलेट) बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा कलैया– ४ निवासी २६ वर्षीय मुकेश साह कलवार, रामपुर, वडा नं ९ निवासी २० वर्षीय सुमन चौहान, सोही ठाउँका २४ वर्षीय प्रदिप कुमार साह, वडा नं २७ निवासी १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरू चारै जनामाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
















