चन्द्रपुर,मन्त्री नै मालिक रहेको एक निर्माण कम्पनीले राष्ट्रिय गौरवको योजना पूर्व–पश्चिम रेलमार्ग निर्माण कार्यमा ढिलाइ गरेको छ ।पद र पहुँचको प्रभावमा ठेक्काको म्याद थप्दै आएपनि निर्माण कार्य अधुरो नै रहेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका निर्माण व्यवसायी बहादुर सिह लामा तामाङ्गको जेभि रहेको निर्माण कम्पनी रौताह–हिम्डुङ्ग एण्ड थोकर–कन्काईले रेल्वे ट्रयाकबेड र पुल निर्माणमा ढिलाई गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।पूर्वपश्चिम रेल निर्माणको कार्य समयमै सम्पन्न नहुनुमा निर्माण व्यवसायी दोषी रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताउनुभयो । दश महिनादेखि सडकको दायाँबायाँ ठड्याएको फलामे रडमा खिया लागेपछि निर्माण कम्पनीले हतार हतारमा खाक्सी लगाएर खिया हटाउन थालेको छ । ३ (तीन) नम्बर प्याकेजमा पर्ने सो ठेक्का अन्तर्गत रेल गुडने पुलको तल्लो भागमा ढलान गरेर दश महिनादेखि त्यसै छाडिएकाले खिया लागेर रड जीर्ण बनेको हो ।निर्माण व्यवसायी लामाले निर्माण कार्य ढिलाई हुन गएको स्वीकार गर्नुभएको छ । सो प्याकेजको ठेक्का आर्थिक वर्ष ०७५_०७६ मा शुरु भएपनि समयमै कार्य सम्पन्न नहुँदा निर्माण कम्पनीको म्याद गत असाढ महिनामा सकिएको थियो । निर्माण कम्पनीले पुनः म्याद थपको लागि गृहकार्य थालेको छ ।निर्माण व्यवसायीले म्याद थप नहुँदै अलपत्र छाडिएको पुलको निर्माण थाले पनि रडको ल्याब परीक्षण गरिने रेल मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दीका सवईन्जिनियर श्यामभक्त श्रेष्ठले बताउनुभयो । समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आयोजनाले पत्रचार समेत गरिसकेको छ ।सो प्याकेजको कम्पनीको तर्फबाट निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण कार्यलाई बेवास्ता गर्दै आएको आयोजनाले जनाएको छ ।

Leave a Reply