नरेश गुप्ता
बरियारपुर,बाराको आदर्शकोतवाल गाउँपालिका ( ६ पटेर्वा निवासी प्रभुप्रसाद कुशवाहा मृत्यु प्रकरणमा बाँकी आरोपितहरुलाई पनि पक्राउ गर्न पीडित पक्षले माग गरेको छ ।
गत जेष्ठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा छिमेकी रामप्रवेश महतो र किशोरी कुशवाहाको परिवारको कुटपिटबाट गंम्भीर घाइते भएका कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
पीडित परिवारले जाहेरी दिन जाँदा पनि जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र यादवले धेरै जनाको नाममा किटानी जाहेरी हालेको भन्दै पीडित पक्षलाई नाम सच्याएर ल्याउन भनेर फर्काएको पीडित पक्षले बताएको छ । प्रहरीले घटनमा संलग्न दोषिहरुलाई उन्मिुक्ति दिन खोजेको मृतकका छोरा सन्दिप कुशवाहाले आरोप लगाउनुभयो ।
घटनामा संलग्न भएको आरोपमा किशोरी कुशवाहा र रामप्रवेश महतो हाल प्रहरीको हिरासतमा रहेका छन् । तर घटनाका मुख्य योजनाकारसहित अन्य आधा दर्जन व्यक्तिहरुको फरार रहेको बताइएको छ । मुख्य योजनाकार मानिएका पूर्वगाविस अध्यक्ष रामअयोध्या यादवसहित घटनामा संलग्न आधा दर्जनभन्दा बढी व्यक्ति फरार रहेको बताइएको छ ।
प्रहरीले भने उनीहरुको खोजी कार्य गरि रहेको र पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले घटनाको बारेमा प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको बताउनुभयो ।
मृतक कुशवाहाको हत्या पूर्वयोजना अनुसार गरिएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ । स्थानीयका अनुसार जग्गा नाप नक्साको बिवाद विगत ५ वर्ष अघिदेखि पटक पटक हुँदै आएको थियो । जग्गा नाप नक्साको क्रममा जिल्ला अदालत बाराका अमिन तथा ईलाका प्रहरी कार्यालय आदर्शकोतवालका प्रहरी सहितको टोलीकै उपस्थितिमा दर्जनौं व्यक्तिको समूहले कुटपिट कुशवाहाको हत्या भएको घटनाले जिल्लामा शान्ति सुरक्षाको अवस्थाप्रति प्रश्न चिन्ह खडा भएको छ ।
यसैबीच बितेको एक महिनामा बारामा ३ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा १८ जनालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी दिनुभयो ।