पुष्पराज खतिवडा
बरियारपुर,प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।बिहीवार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजगढ विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईँहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।’उहाँले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो । विद्युतीय सिँचाइ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ ।प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । ‘पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशमा रहेका लाखौंँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो’, उहाँले भन्नुभयो ।त्यसैगरी प्रचण्डले पाँच दलिय गठबन्धनका कारण देश ठुलो राजनैतिक खतरबाट जोगिएको पनि बताउनुभएको छ ।‘हजारौं शहिदहरुको रगत, बेपत्त योद्धाहरु, घाइते र लाखौं जनाताको आन्दोलनको बलमा प्राप्त भएको संविधान, संघीय लोकलान्त्रीक गणतन्त्र र त्यो संविधानलाई घात गर्न खोज्ने पटकपटक संविधानलाई मिचेर संसद विघटन गर्न खोज्ने विघटनकारी प्रवृति विरुद्ध लडाइको मैदानबाट जन्मिएको हो पाँच दलिय गठबन्धन ।’ उहाँले भन्नुभयो ।यदि पाँच दलीय गठबन्धन हुँदैन थियो भने देश ठुलो राजनीतिक खतरामा पर्ने उहाँको भनाइ थियो । अहिलेपनि धेरै खालका चलखेलहरु भए र भैराखेका छन् भन्दै उहाँले त्यसलाई असफल पार्न पाँच दलिय गठबन्धन अझ बलियो हुन पर्ने उहाँको भनाइ थियो । उपराष्ट्रपति जस्तो गरीमामय पद पाएकोमा बारा जिल्लाबासीलाई भाग्यमानी बताउदै प्रचण्डले उपेन्द्र यादवको जिताउनको लागि आग्रह गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवको आग्रहमा बाराका रामसहायप्रसाद यादवलाई उपराष्टपति बनाएको र परिवर्तनका प्रमुख नेता एवं प्रधानमन्त्रीको हैसियतले यादवलाई जानुस् जितेर आउनुस् भनेर आफुले नै बारा क्षेत्र नम्बर २ मा पठाएको पनि बताउनुभयो ।पाँच दलीय गठबन्धनका साझा उमेदवार यादवलाई विजय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो । यादवको विजय मधेशको मात्रै नभएर देशको विजय हुने भन्दै प्रचण्डले यहाँका समस्या समाधानमा लाग्ने बताउनुभयो ।उहाँले बाराको गढिमाईलाई पशुपति विकास कोष, लुम्बीनी विकास कोष जस्तै गढिमाई विकास कोष स्थापना गरेर विकासमा जोड दिने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले नागरिताको समस्या मधेसको मात्रै नभएर देशको समस्या भएको बताउनुभएको छ । यो समस्यालाई गम्भीरतापूर्वक आत्मासाथ गरेर नै प्रतिनिधिसभा राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिकोमा पठाए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेकाले त्यसै अड्किएर बसेको उहाँको भनाइ छ ।यस्तै सभामा सहभागी नेपाली काँग्रैसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव मधेश मधेशीको हितमा काम गर्ने नेता भएको बताउनुभयो । आफु प्रधानमन्त्री र यादव उपप्रधानमन्त्री भएका बेला मधेसको सवालामा धेरै पटक झगडा परेको सुनाउनुभयो । यहाँको विकास र जनताको सेवाको लागि यादव आवश्यक भएको भन्दै देउवाले उपेन्द्र यादवलाई मत दिन आग्रह गर्नुभयो ।यसैगरी नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अझै पनि भ्रष्टचार बेतिथि र अराजकता रहेकाले गठबन्धनलाई बलियो बनाउनुपर्ने बताउनुभयो । गठबन्धनको सरकार बलियो भएमात्रै देशको विकास र समृद्धि सम्भव हुने उहाँको भनाइ थियो ।कार्यक्रममा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष एवं बारा २ का उमेदवार उपेन्द्र यादव, लोकतान्त्रीक समाजवादीका मधेस प्रमुख एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल, एकिकृत समावादीका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतको सहभागिता थियो ।कार्यक्रमका दौरान पाँच दलका नेताहरुलाई ५१ किलोको माला अढाएर सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेता चुनावी सभालाई सम्बोधन गर्न बारा आएका हुन् । पाँच दलीय गठबन्धनका साझा उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउने अभियान अन्तर्गत नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जसपा र लोसपाले संयुक्त आयोजनामा चुनावी सभाको आयोजना गरिएको थियो ।

















