सिमरा,बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाले संचालन गरेको ‘जीवनवृत्ति बचत योजना’ बारेमा सामाजिक सञ्जालमा आएका विवरणहरुप्रति आपत्ति जनाएको छ ।संस्थाले सञ्चालन गर्दै आएको जीवनवृत्ति बचत योजना सम्बन्धमा बचतकर्तामाथि अन्याय गरिएको भनेर केही बचतकर्ताहरुले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेपछि सहकारीले सूचना निकालेर सो बारेमा स्पष्टिकरण दिएको हो ।
सहकारी संस्थाका अध्यक्ष रामचन्द्र पौडेलद्वारा जारी सूचनामा यथार्थ बुझ्न संस्थाबाट आधिकारिक जानकारी लिन अनुरोध गर्दै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरिएको छ । ‘सार्वजनिक रूपमा फैलाइएका तथ्यहीन आरोपले संस्थाको छवि धूमिल गर्ने प्रयास भएको छ । यस्ता भ्रामक सूचनाबाट भ्रमित नहुन सबै शेयर सदस्य तथा सर्वसाधारणलाई आग्रह गरिन्छ ।’ सूचनामा भनिएको छ ।
त्यसैगरी सहकारीले पारदर्शिता, जवाफदेहिता र सदस्यको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि सूचनामा जनाएको छ । शुरुवाति दिनहरुमा संस्थाको आर्थिक अवस्था राम्रो रहेको भए पनि पछिल्लो समय मुलुकको समग्र आर्थिक मन्दीका कारण केही आर्थिक चुनौती देखिएको पनि सूचनामा भनिएको छ ।संस्थाकाअनुसार जीवनवृत्ति बचत योजनामा सहभागी अधिकांश सदस्य मध्यम तथा निम्न आय वर्गका छन् । हाल संस्थाले बचत लिन नरोकेको तर ऋण प्रवाह सीमित गर्दै तरलता व्यवस्थापनमा ध्यान दिएको जनाएको छ । योजनाअनुसार बचतकर्ताले गरेको बचत र सहमतिपत्रमा उल्लेख भएबमोजिम कसैलाई पनि आर्थिक घाटा नपर्ने गरी कार्यक्रमको अवधि मात्र समायोजन गरिएको बताइएको छ ।नियामक निकायको निर्देशनअनुसार ३ वर्षभन्दा बढी अवधिको बचत योजनामा समयावधि परिवर्तन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै संस्थाले सोही आधारमा निर्णय गरिएको जनाएको छ ।
यस विषयमा १८ औं वार्षिक साधारण सभाबाट छलफल गरी अधिकतम १५ वर्षसम्म समयावधि कायम गर्न सकिने निर्णय भएको पनि जनाइएको छ ।
२० वर्षे अवधिलाई हेरफेर गरी १० वर्षमा र १० बर्ष पुरा भएको सदस्यहरुको हकमा १५ वर्षसम्म जम्मा गर्न सकिने गरी कार्यविधिमा परिमार्जन गरेको संस्थाले जनाएको छ ।संस्थाका अनुसार १० वर्षको समयावधि पूरा गरेका सदस्यहरूलाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको र बाँकी सदस्यहरूलाई पनि क्रमशः भुक्तानी गरिने जनाइएको छ ।



















