वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेशसभाको बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले सो बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटअनुसार, कुल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ (३५.८९%) र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ (६४.९६%) विनियोजन गरिएको छ । यसले प्रदेश सरकारको विकास निर्माण र भौतिक पूर्वाधारमा जोड दिने नीतिलाई प्रतिबिम्बित गर्दछ ।
बजेटको स्रोततर्फ, आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख रुपैयाँ, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख रुपैयाँ, विशेष अनुदानबाट ३९ करोड ४५ लाख रुपैयाँ र समपूरक अनुदानबाट ३५ करोड ८२ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
यसपटक मधेश प्रदेश सरकारले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड रुपैयाँ, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ । यो बजेटले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।