सर्लाही – उखु किसानलाई सरकारले दिनुपर्ने अनुदानको रकम उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि सर्लाहीका किसानले पाउन सकेका छैनन् । सरकारले आर्थिक वर्ष २०८०-८१ को लागि उखुको समर्थन मूल्य प्रतिक्वीन्टल ६ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो ।
यसमा उद्योगीले किसानसँग प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु खरिद गर्नुपर्ने र सरकारले ७० रुपैयाँ थप अनुदान दिने गरी मूल्य निर्धारण गरिएको थियोे । उद्योगीले उखु खरिद बापतको ५ सय ६५ रुपैयाँ भुक्तानी गरिसकेका तर सरकारले दिनुपर्ने ७० रुपैयाँ अनुदानको रकम भुक्तानी हुन नसकेको किसानको गुनासो छ ।उखु बिक्री गरेको १० महिना बितिसक्दा पनि अनुदान रकम नपाएकाले घर खर्च चलाउन मुस्किल परेको उखु किसान कुमार ढुङ्गेलले गुनासो गर्नुभयो । सरकारले दशैँ अगाडि नै अनुदानबापतको रकम किसानलाई उपलब्ध गराउने बताएको छ । तर किसानले अहिलेसम्म पाएका छैनन् ।
उखु किसानलाई उपलब्ध गराउने ७० रुपैयाँ अनुदानको रकम छिटो पठाउन कृषि मन्त्रालय र अर्थ मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।
सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगले क्रसिङ गरेको उखुको अनुदान रकम २९ करोड रुपैयाँ हुने र मन्त्रालयले अहिलेसम्म कार्यालयको खातामा रकम नपाएकाले किसानको बैंक खातामा पैसा पठाउन नसकिएको सर्लाहीका प्रमुख कोष नियन्त्रक कृष्णप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।यसअघि अनुदानको रकम माग गर्न काठमाण्डौ आएका उखु किसानलाई सरकारले भदौ मसान्तभित्रै अनुदान उपलब्ध गराउने आश्वासन दिएको थियो ।