रौतहट,रौतहटमामाध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि पहिलो दिनमै ठूलो सङ्ख्यामा मोबाइल बरामद भएको छ ।त्यसैगरी परीक्षमा अमर्यादित कार्य गरेको आरोपमा २ जना पक्राउ परेका छन ।रौतहटका विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्न खोजेपछि कडा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो ।

विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइवरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ । प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो ।यद्यपि परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो, जसअन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
यसैगरी मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पु¥याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भङ्ग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।विगतका वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट चिट पु¥याउने कार्य व्यापक बनेपछि यसपालि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा पारिएको हो । परीक्षा प्रणालीलाई पारदर्शी बनाउन गरिएको कडाइका बाबजुद ४२४ मोबाइल बरामद हुनुले अझै प्रभावकारी निगरानी आवश्यक रहेको देखिएको छ ।
सर्लाहीमा एसईई परीक्षा केन्द्रहरूबाट तीन निरीक्षक र एक विद्यालय सहयोगी निष्कासित
सर्लाही,माध्यामिक शिक्षा परीक्षा एसईई) २०८१ को पहिलो दिनमै सर्लाही जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट अमर्यादित क्रियाकलापमा संलग्न भेटिएका तीनजना परीक्षा निरीक्षक र एक विद्यालय सहयोगीलाई निष्कासित गरिएको छ। परीक्षामा अनुशासन कायम गर्न जिल्लामा पाँचवटा अनुगमन टोली खटिएको छ।शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीका अनुसार बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरिरहेको अवस्थामा पत्ता लागेपछि तत्काल निष्कासित गरिएको हो।
त्यस्तै, हरिपुर्वा नगरपालिका–८ मा रहेको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई पनि सोही प्रकारको अनियमितता गरेको पाइएपछि कारबाही गरिएको छ।
यसका अतिरिक्त, मलंगवा नगरपालिका–७ स्थित श्री बौधीदेवी माध्यमिक विद्यालय, मुसैलीका विद्यालय सहयोगी इन्द्रजीत महतो नुनियालाई समेत परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा निष्कासन गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ।
यस वर्ष सर्लाहीको बागमती नगरपालिका–५, ढुंग्रेखोला मिलनचोकस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रलाई हटाइएको छ। यसका सट्टा, गोडैता नगरपालिका– १० स्थितश्रीनारायण हरि माध्यमिक विद्यालयमा नयाँ परीक्षा केन्द्र थप गरिएको छ।
परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरियो
सिराहा,सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ ।
यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ।’
परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गर्छ।जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। परीक्षामा १०हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।


















