कृष्णउदास खनाल
वीरगञ्ज,धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण वीरगञ्जमा हिजो बेलुकीदेखि लागू भएको कफ्र्यू हटेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शान्ति सुरक्षा कायम राख्न जारी गरिएको कफ्र्यु आज मङ्गलवार अपराह्न ३ः३० बजेदेखि लागू हुने गरी पूर्ण रूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
दुई फरक समुदायबीचको तनावका कारण अशान्त बनेको वीरगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायमका लागि ५ बुँदे सहमति भएपछि कफ्र्यु हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सुरक्षा निकायका प्रमुखहरुको रोहबरमा बसेको हिन्दु र मुस्लिम समुदायका अगुवाहरु सम्मिलित सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने लगायतका ५ बुँदे सहमति गरिएको हो । उक्त सहमति पत्रमा हिन्दु र मुस्लिम धर्मका अगुवा, जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले पनि हस्ताक्षर गरेका छन । ५ बुँदे सहमति भएसंगै वीरगञ्जमा सोमबारदेखि लगाइएको कर्फू मंगलबार अपरान्ह ३.३० बजेदेखि हटाइएको छ ।
गत आइतबारदेखि अशान्त बनेको वीरगञ्जमा मंगलबार अपरान्ह ३.३० बजेदेखि कर्फु हटाएसंगै भने जनजीवन सामान्य बन्दै गएको छ । बजारहरु खुलेका छन् भने सडकमा आवागमन पनि सुचारु बनेको छ ।जिल्ला प्रशासन कार्यालयमा भएको सर्वक्षीय बैठकमा भएको ५ बँुदे सहमतिमा अन्य मुलुक वा नेपालकै अन्य जिल्लामा हुने धार्मिक वा सामाजिक घटना÷दुर्घटनाको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन वा आन्दोलन नगर्ने, गर्नै परेको खण्डमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयबाट अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेस गर्न जोड दिने, त्यसपछि मात्रै आन्दोलनको कार्यक्रम गर्ने उल्लेख छ ।

यस्तै भविष्यमा हुनसक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न हिन्दु र मुस्लिम अगुवा लगायत सम्मिलित सदभाव समिति पनि गठन गरिएको छ । उक्त सदभाव समितिमा हिन्दु समुदायका तर्फबाट रन्जित साह र रन्जन सिंह, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र मौलाना असगर मदनी, राजनीतिक दलका एक एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष, नागरिक सामाजका एक जना प्रतिनिधिलाई रहेका छन् ।

सदभाव समितिले भविष्यमा हुनसक्ने धार्मिक र सामाजिक सद्भावविरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्ने तथा आवश्यक कानुनी कारबाहीका लागि कानुनी निकायमा सिफारिस गर्ने सहमति पनि गरिएको छ ।यसैगरी सर्वपक्षीय बैठकमा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक, सांस्कृतिक रसामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने, धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह÷ आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने, सबै पक्षले आ–आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न अपिल गर्ने सहमति पनि गरिएको छ ।

साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोधका कार्यक्रमहरु नगर्ने बुदाँ पनि ५ बुँदे सहमतिपत्रमा उल्लेख रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।सर्वपक्षीय बैठकमा सहमति भएपछि वीरगञ्जमा सोमबारदेखि लगाइएको कर्फु आदेश मंगलबार अपरान्ह ३.३० बजेदेखि हटाइएको पनि प्रजिअ दाहालले जानकारी दिनुभयो ।गत शनिबार धनुषमा मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर आइतबारबाट दुई फरक समुदायको प्रदर्शन कारण अवस्था तनाग्रस्त बनेपछि सोमबार दिउँसो १ बजेदेखि वीरगन्जमा निषेधाज्ञा र त्यसपछि कर्फु लगाइएको थियो ।

Leave a Reply